मटिहानीमा धूमधामका साथ ‘मोहम्मद डे’ मनाइयो

मो. इसराफिल राइन

महोत्तरी, मटिहानी —
विश्वभरका मुस्लिम समुदायले आज इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव ‘मोहम्मद डे’ धूमधामका साथ मनाएका छन्।

त्यसैअनुरूप महोत्तरी जिल्लाको मटिहानीमा पनि मुस्लिम समुदायले बाजागाजासहित र्‍याली निकाल्दै मोहम्मद डे मनाएका हुन्। मटिहानी–८ नूरी टोलबाट सुरु भएको र्‍याली मटिहानीका विभिन्न भागको परिक्रमा गर्दै पुनः नूरी मस्जिद अगाडि पुगेर सम्पन्न भएको थियो।

यस अवसरमा मुस्लिम परिवारहरूले घर–घरमा हरियो झन्डा राख्ने परम्परा निर्वाह गरेका थिए। नूरी मस्जिदका इमाम मोहम्मद तहसीन रेजाका अनुसार मोहम्मद डे का दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने चलन रहँदै आएको छ।

मुस्लिम धर्मगुरुहरूले पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको उल्लेख गर्दै उहाँ इस्लाम धर्मका अन्तिम सन्देशवाहक भएको बताए। पैगम्बर मोहम्मदले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर