मटिहानीमा मटिहानी प्रिमियर लिग (MPL) सिजन–१ सुरु, पहिलो खेलमा वटेश्वर-५ को सहज जित

मो. इसराफिल राईन

मटिहानी नगरपालिका–७स्थित मटिहानी रंगशालामा आजदेखि मटिहानी प्रिमियर लिग (MPL) सिजन–१ (२०८२) औपचारिक रूपमा सुरु भएको छ। क्रिकेट प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो।

महोत्तरी र धनुषा जिल्लाबाट गरी १६ वटा क्रिकेट टिम सहभागी रहेको यस प्रतियोगिताको पहिलो खेल वटेश्वर गाउँपालिका–५ शान्तिपुर, धनुषा र औरही गाउँपालिका–४ औरही, धनुषाबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा वटेश्वर गाउँपालिका–५ शान्तिपुरले उत्कृष्ट प्रदर्शन गर्दै औरही गाउँपालिका–४ औरहीलाई ७ विकेटले पराजित गर्यो।

मटिहानी प्रिमियर लिग (MPL) सिजन–१ संयोजक रितेश कुमार मंडलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह आकर्षक र भव्य रह्यो। कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन साह, सदस्य राम कुमार साह, मटिहानीस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, मटिहानी क्रिकेट टीमका खेलाडीहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय खेलकुदको विकास र युवामा खेलप्रति उत्साह जगाउने उद्देश्यले आयोजित MPL सिजन–१ आगामी दिनहरूमा झनै रोमाञ्चक हुँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर