मो. इसराफिल राइन
मटिहानी, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा “स्वस्थ समुदायको निर्माण: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराको साथ आज २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

यसै अवसरमा मटिहानी नगर कार्यपालिकाको कार्यालयमा धिरापुरमा आयोजित कार्यक्रममा मटिहानी नगरपालिका अन्तर्गत रहेका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरु र फील्डमा खटने स्वास्थ्यकर्मीहरुलाई झोला(Bag) मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले वितरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मंडलले आ.व.२०८१/०८२ को स्वास्थ्यको वार्षिक समिक्षामा मटिहानी नगरपालिका महोत्तरी जिल्लामा दोस्रो भएकोमा स्वास्थ्य शाखा लगायत सम्पूर्ण स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा सुधार गर्न महिला स्वास्थ्य स्वेयं सेविकालाई प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयं सेविकाहरुले पाऊँदै आएको यातायात ख़र्चमा अगामी आर्थिक वर्ष देखि रु. ५०० बृद्धि गरिने भन्नुभयो ।

त्यसै गरी उहाँले “महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको पहिलो स्वास्थ्यदूत हुन्। मातृ–शिशु स्वास्थ्य सुधारदेखि जनचेतनामूलक काममा उनीहरूको योगदान अतुलनीय छ। नगरपालिका यस योगदानलाई सदैव सम्मान गर्छ।” भन्ने विश्वास व्यक्त गर्नुभयो

त्यसै गरी मटिहानी नगरपालिका अन्तर्गतका ३६ वटै स्वयं सेविकाहरु र फील्डमा खटने स्वास्थ्यकर्मीहरुलाई १/१ वटा झोला(Bag) वितरण गरिएको कुरा मटिहानी नगरपालिकाको जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डलले बताउनुभयो ।

नगर प्रमुख हरि प्रसाद मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, सि. अ. हे. व. अधिकृत नागेश्वर पाण्डेय,मटिहानी नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरु , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, मटिहानी नगरपालिकाका कर्मचारीहरु लगायतका सहभागिता रहेको थियो ।






