मो. इसराफिल राइन
मटिहानी, महोत्तरी — मटिहानी नगरपालिका वडा नं. ७ स्थित धार्मिक एवं ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर)मा आज हरिबोधनी एकादशीको अवसरमा विशेष पूजा–अर्चना तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ।
विहानैदेखि भक्तजनहरू दर्शनका लागि मन्दिरमा ठूलो भीड लागेको थियो। भक्तजनहरूले भगवानविष्णुको आराधना गर्दै ब्रत भजन–कीर्तन र दीपदानका माध्यमबाट आफ्नो आस्था प्रकट गरेका थिए।

मठ परिसरमा पूजाको विशेष व्यवस्था गरिएको थियो भने पुजारीहरूले वैदिक विधिअनुसार हरिबोधनी एकादशीको पूजा सम्पन्न गराएका छन।
साथै हरिबोधनी एकादशी पूजामा आकर्षक दीप समेत बालिएको थियो। भक्तजनहरूले दीप बाल्दै भगवान् लक्ष्मीनारायणसँग परिवारको सुख–समृद्धि र देश–विदेशमा शान्तिको कामना गरेका थिए।

लक्ष्मीनारायण मठ महोत्तरीको ऐतिहासिक एवं सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन यहाँ हरिबोधनी एकादशीको अवसरमा विशेष पूजा गरिँदै आएको छ। यस अवसरमा मटिहानी र आसपासका गाउँ–टोलका साथै भारतको सीमावर्ती क्षेत्रका भक्तजनहरू समेत दर्शनका लागि आउने गर्दछन्।

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरु, समाजसेवी र स्थानीय बासिन्दाहरुको समेत सक्रिय सहभागिता रहेको थियो। पूजा सम्पन्न भएपछि प्रसाद वितरण तथा भजन–कीर्तन कार्यक्रम पनि आयोजना गरिएको थियो।






