मटिहानीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : जनचेतना र्‍याली तथा सडक नाटकसहित विविध कार्यक्रम सम्पन्न

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी ।
प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२५’ मटिहानी नगरपालिकामा जनचेतनामूलक र्‍याली तथा सडक नाटक प्रदर्शन गरी सुरु गरिएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख श्री हरि प्रसाद मंडलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मंडलले सभ्य र सुरक्षित समाज निर्माणका लागि लैंगिक हिंसा अन्त्य अनिवार्य रहेको उल्लेख गर्दै, हिंसा रोकथाममा सबैको सक्रिय भूमिका आवश्यक छ भनेका थिए। उनले प्रविधिको दुरुपयोगका कारण फैलिने विभिन्न प्रकारका लैंगिक हिंसा रोक्न जनचेतना अत्यावश्यक भएको पनि जोड दिए।
नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२५ सम्म सञ्चालन हुने १६ दिने अभियानअन्तर्गत मटिहानी नगरपालिकामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न हुँदै जाने जनाइएको छ।

यसैक्रममा रतौली युवा क्लब, WOREC नेपालROYM Nepal को संयुक्त समन्वय तथा मटिहानी नगरपालिकाको आयोजनामा जनचेतना र्‍याली र सडक नाटक प्रस्तुत गरिएको थियो।
 
श्री राम माध्यमिक विद्यालय, मटिहानीबाट सुरु भएको र्‍याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मटिहानी नगरपालिका वडा नं.–७ को कार्यालय अगाडि कोण सभासहित सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख दिपा दासले गर्नुभएको थियो। कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, नेपाल प्रहरीका प्रतिनिधिहरु, शिक्षक–शिक्षिका, विभिन्न शाखाका प्रमुखहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लैंगिक हिंसा विरुद्ध सामूहिक आवाज उठाउने र समान हक–अधिकार एवं सुरक्षित समाज निर्माण गर्ने सन्देशसहित सम्पन्न कार्यक्रमले स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर