
महोत्तरी – मिथिलाञ्चलको प्रसिद्ध लोक पर्व चौरचन र तीज आज धुमधामसाथ मनाइँदैछ । हरेक वर्ष भदौँ शुक्लपक्ष चतुर्थीका दिन चौरचन पर्व मनाइने गरिन्छ ।यस वर्ष चौरचन पर्व र तीज पर्व पनि एकैदिन परेको छ।यसैबीच महोत्तरीका स्थानीय सरकारहरुले लोक पर्व चाैरचन र तीजको उपलक्ष्यमा आज सार्वजनिक विदा दिएको छ।यसरी विदा दिने स्थानीय सरकारहरुमा जलेश्वर, रामगोापलपुर, औरही, मटिहानी , लोहारपट्टी लगायतका रहेका छन् ।मिथिलाको लोक पर्व चौरचन (चौथचन्द्र व्रत) र हरितालिका तीज पर्वको अवसरमा सुचना प्रकाशित गर्दै एक दिन सार्वजनिक विदा दिने घोषणा नगरपालिकाहरुले गरेका छन् ।
नगरपालिकाले जारी गरेको सूचनामा यस दिन घर–घरमा पूजा–अर्चना गरी पर्व मनाइने भएकाले नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहने उल्लेख छ ।मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले दुवै पर्वका अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना दिँदै चौरचन पर्वको महत्वबारे स्मरण गराउनुभएको छ । उहाँले भन्नुभयो, “चौरचन पर्व हाम्रो मौलिक परम्परासँग जोडिएको आस्था, परिवार र सामाजिक एकताको प्रतीक हो ।यो पर्वले घर–घरमा श्रद्धा, सहकार्य र आपसी सद्भाव बढाउने गर्दछ ।” साथै उहाँले तीज पर्वले महिलाहरूको धार्मिक आस्था मात्र नभई सामाजिक र सांस्कृतिक महत्व पनि रहेको उल्लेख गर्दै दुवै पर्वले समाजमा नयाँ उमङ्ग र ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसरी मनाइन्छ चाैरचन पर्व
यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।
पूजामा विशेष परिकार बनाउने चलन रहेको औरही नगरपालिका २ की मन्जु कुमारी यादव(यदुवन्शी) बताउनुहुन्छ । उहाँले प्रसादका रूपमा,पेरुकिया खजुरी, खाजा,पुरी र खिर घरघरमा बनाउने चलन रहेको बताउनुभयो ।चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने धार्मिक मान्यताअनुसार चाैरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको पुरोहित इन्द्रकान्त झाले बताउनुभयो ।
मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफैँ ज्योतिष हुनुहुन्थ्यो । उहाँलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको परोहित झाले बताउनुभयो ।मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहेको छ ।
चाैरचनको महत्व
चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको महोत्तरीका वरिष्ठ पत्रकार तथा साहित्यकार गोपाल बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”बरालका अनुसार सबै देवीदेवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई खाली हातले हेर्दा कलङ्क (पाप) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो पापबाट बच्न सकिन्छ ।
पर्वको प्रारम्भ
मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ । एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ ।”यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।
चौरचनको कथा
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनलाई चौठ चन्द पनि भनिन्छ। यस पर्वको विभिन्न प्रचलित कथा रहेको पण्डित लालबाबु झा बताउनुहुन्छ । झाका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ ।
श्रीमद्भागवतमा एउटा कथा छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरीब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए–’स्यमन्तक’ । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट यादवले प्रतिदिन २० मन सुन प्राप्त गर्नुहुन्थ्यो ।
यसरी उहाँ छिटै धनाढ्य हुनुभयो । चारैतिर यो खबर फिंजियो ।एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुग्नुभयो। मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो ।श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरेपनि उहाँले मान्नुभएन र बहाना बनाई घर फर्किनु भयो। घरमा गएपछि राजाले लेला भन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जङ्गल पठाइ दिनुभयो ।
कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो । प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आएपछि उसको सन्देह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलङ्क मेट्न श्रीकृष्ण जङ्गल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्षीहरुको आधारमा आशङ्का गर्दै त्यस गुफाभित्र प्रवेश गर्नुभयो। दश दिनभन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै आएका सैनिकहरु निराश भई राजधानी फर्के ।
त्यहाँ श्रीकृष्णको लागि निकै शोक लहर चल्यो । समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिलाका साथ राजधानी फर्किनुभयो । वास्तवमा जामवन्त भालुसँग लडाईं गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्बवतीलाई लिएर उहाँ आउनु भएको थियो । त्यो दिन भाद्र शुक्ल चतुर्थीको दिन भएको हुँदा श्रीकृष्णको कलङ्क मुक्तिको त्यो दिनलाई स्मरण गर्दै चन्द्रपूजाको प्रचलन चल्दै आएको विश्वास गरिन्छ । - शिरीष न्युज