कुम्हार समुदायलाई माटोका भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण

महोत्तरी(औरही) – औरही नगरपालिका वडा नम्बर ४ का कुम्हार समुदायलाई परम्परागत पेशाको संरक्षण र आधुनिकरण गर्ने उद्देश्यले माटोका भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण गरिएको छ।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, नगर प्रमुख प्रदिप कुमार खड्का, उपप्रमुख रेनु झा, प्रदेश सांसद रमिता प्रधान, लोसपा औरही नगरपालिका नगर संयोजक दरेश यादव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत २५ जनालाई मेसिन हस्तान्तरण गरिएको हो। करिब ८ लाख रुपैयाँ खर्चमा भारतबाट खरिद गरिएका यी मेसिनमार्फत विभिन्न प्रकारका माटोका भाँडा बनाउन सकिने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख खड्काले कुम्हार समुदायलाई आत्मनिर्भर र समयसापेक्ष बनाउनका लागि मेसिन वितरण गरिएको बताए। उनले भने, “यही पेशाले जीवन धान्दै आउनुभएको समुदायलाई पेशामा टिकाइराख्न तथा उहाँहरूलाई समय बचतसहित मनग्य आम्दानी गर्न सहज होस् भन्ने उद्देश्यले मेसिन वितरण गरिएको हो।”

लोसपा अध्यक्ष ठाकुरले कुम्हार समुदायको परम्परागत सीपलाई सम्मान गर्दै यसलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “हाम्रा पुर्खाले सुरु गरेको परम्परागत सीप हाम्रो मौलिक पहिचान हो। राज्यले यसलाई संरक्षण गर्दै समयानुकूल प्रविधिसँग जोड्ने कार्यमा निरन्तर पहल गर्नुपर्छ।”

मेसिन पाएका कुम्हार समुदायका सदस्यहरु खुसी भएका छन्। बाँकी लाभग्राहीहरुलाई पनि यसै वर्षभित्र मेसिन उपलब्ध गराउने प्रतिबद्धता नगर प्रमुख खड्काले जनाए।

कार्यक्रममा नगरपालिका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा राजनीतिकर्मीहरुको समेत उल्लेख्य उपस्थिति थियो।

स्वर्गिय वडा अध्यक्ष प्रति श्रद्धाञ्ली

कार्यक्रम सुरु हुनुअघि लोसपा पार्टीबाट निर्वाचित औरही नगरपालिका वडा नम्बर १ का अध्यक्ष दिवंगत योगी चौधरीको तस्वीरमा पुष्पगुच्छा र अबिर चढाएर सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रमपछि लोसपा अध्यक्ष महन्थ ठाकुर, मन्त्री रानी शर्मा तिवारी, प्रदेश सांसदलगायत कार्यकर्ताहरू स्व. चौधरीको निवासमा पुगेर शोकाकुल परिवारसँग भेटघाट गरेका थिए। श्रद्धाञ्जली कार्यक्रमका क्रममा अध्यक्ष ठाकुरले चौधरीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै परिवारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर