मो. इसराफिल राईनमहोत्तरी, मटिहानी – मटिहानी नगरपालिका र नेपाली सेनाको श्री गोरखनाथ गण परिकौलीको संयुक्त आयोजनामा मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित उक्त शिविरमा जेनरल फिजिसियन, स्त्री रोग, बालरोग, कान-नाक-घाँटी तथा दन्त रोग विशेषज्ञहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए।शिविरमा नेपाली सेनाको फील्ड अस्पताल बर्दिबास र प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीले प्राविधिक सहयोग पुर्याएका थिए।


नगर प्रमुख मण्डलले स्वास्थ्य शिविरबाट गाँउका गरीब, असहाय तथा आर्थिक रूपमा उपचार गराउन नसक्ने नागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, स्थानीय मोख्तार राइनले “स्वास्थ्य सेवा गाँउमै पाउँदा निकै राहत महसुस भएको छ” भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो।
स्वास्थ्य सचेतना अभिवृद्धि र प्राथमिक उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो शिविरले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

शिविरको औपचारिक कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उप-प्रमुख मंजु देवी साह, नेपाली सेनाको श्री गोरखनाथ गण प्रकौलीका सेनानी बिनोद बिकास पाठक, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप-अनुसन्धान निर्देशक चन्दन झा, वडा नं. ९ का अध्यक्ष मदन चौधरी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, महिला स्वास्थ्य स्वयंसेविकाहरू, नेपाली सेनाका टोली, पत्रकार, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





