महोत्तरी – मटिहानी नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था लि., मझौरा बिसनपुर को १८ औँ वार्षिक साधारण सभा आज व्यापक जनसहभागितामा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष किशोरी महतो ले गर्नु भएको थियो।

सभामा प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष मिश्री नायक तथा विशिष्ट अतिथि साना किसान विकास लघुवित्त, काठमाडौंका पूर्व संचालक सदस्य रबिन्द्र प्रसाद यादव उपस्थित थिए। संचालक समिति, लेखा समिति, अन्तर समूह समिति, शेयरधनी, किसान, पार्टी प्रतिनिधि र समाजसेवीहरु समेत सहभागी भएका थिए। सहभागीहरुले संस्थाको प्रगति, चुनौती र आगामी योजनाबारे आफ्नो जिज्ञासा र सुझाव राखेका थिए।

संस्थाका प्रबन्धक रामदेव यादव ले गत आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै चालू आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट र संस्थासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरे। प्रबन्धक यादवका अनुसार संस्थाको हाल कुल सम्पत्ति १२ करोड ६० लाख १२ हजार ५ सय १० रुपैयाँ रहेको छ भने ९ करोड १७ लाख १६ हजार रुपैयाँ लगानीमा रहेको छ। चालू वर्ष असाढ मसान्तसम्म संस्थाले १ करोड ५५ हजार ८ सय रुपैयाँ नाफा आर्जन गरेको छ।

संस्थामा हाल मटिहानी वडा नं. ४ र ५ का जम्मा ६१४ शेयर सदस्य रहेका छन्। प्रबन्धक यादवले भने, गत वर्षको तुलनामा ऋण र ब्याज असुलीमा वृद्धि भए पनि केही ऋणीहरुको अनुत्तरदायी व्यवहारका कारण लक्षित प्रगति हासिल हुन सकेको छैन।वार्षिक साधारण सभा बिहान १० बजे सुरु हुने तय भए पनि प्राविधिक कारणले केही ढिलाइ हुँदा साँझ ५ बजेसम्म चल्यो।







