फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका स्वीकृत गर्‍यो

मो. इसराफिल राइन

महोत्तरी ।
  आगामी सम्वत् २०८२ साल फागुन २१ गते (२०७९ माघमा सम्पन्न अघिल्लो प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक) हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी प्रारम्भ भएको छ। निर्वाचन आयोगले आज बसेको बैठकबाट निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ, जसअनुसार निर्वाचनका सबै प्रक्रिया समयमै सम्पन्न गर्न कार्यहरू चरणबद्ध रूपमा अघि बढाइनेछ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन गरिनेछ। यस अवधिमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्नेछन्। आयोगले स्पष्ट पारेको छ कि निर्वाचनमा भाग लिन इच्छुक दलहरूले मिति २०८२ साल कात्तिक ३० गते (७/३०) अगावै आफ्नो राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने पौष १८ र १९ गते दलहरूले आफ्नो उम्मेदवारहरूको बन्दसूची (Closed List) पेश गर्नुपर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष प्रणाली) अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

निर्वाचन प्रचारप्रसारको लागि फागुन ३ गतेदेखि १८ गतेसम्मको अवधि तोकिएको छ। यस अवधिमा राजनीतिक दल, उम्मेदवार र समर्थकहरूले प्रचारप्रसारका विभिन्न कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। मतदान सकिएपछि दुवै निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) तर्फका मतपेटिका संकलनपछि मतगणना कार्य सुरु गरिनेछ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनका सम्पूर्ण तयारीहरू — मतदाता नामावली अद्यावधिक, मतदाता शिक्षा, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी तालिम, र सुरक्षासम्बन्धी संयोजन — क्रमशः सञ्चालन गर्ने जनाएको छ। साथै, निर्वाचन सफल र निष्पक्ष बनाउन आयोगले राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवालासँग समय समयमा परामर्श र छलफल गर्ने योजना पनि बनाएको छ।

निर्वाचन आयोगले सबै पक्षलाई कानूनी प्रक्रिया र तोकिएको समयसीमाभित्र आवश्यक तयारी पूरा गर्न आग्रह गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर