
मो. इसराफिल राइन
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा श्री आदर्श दुर्गा पूजा समितिद्वारा प्रत्येक वर्षझै यस वर्ष पनि दुर्गा पूजोत्सव भव्य रूपमा मनाइने भएको छ। समितिले धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई मजबुत बनाउन पूजोत्सवलाई ऐतिहासिक पर्वका रूपमा अघि बढाइने जनाएको छ।

समितिले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार, आगामी २०८२ साल असोज ६ गते सोमबार बिहान ९:०० बजे कलश शोभा यात्रा निकालिनेछ। सो शोभायात्रामा भक्तजनहरूको विशाल सहभागिता रहने अपेक्षा गरिएको छ। त्यस्तै, बेल्नौती कार्यक्रम असोज १२ गते आइतबार दिउँसो ३:०० बजे हुनेछ भने असोज १७ गते शुक्रबार दिउँसो १:०० बजे प्रतिमा विसर्जन गरिने छ।

समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन, स्थानीयवासी, समाजसेवी तथा धार्मिक–सांस्कृतिकप्रेमीलाई पूजोत्सवमा सहभागी भई दुर्गा भवानीको दर्शन गरी पुण्य लाभ लिन सादर आमन्त्रण गरेको छ।

आयोजक समितिका पदाधिकारीहरूले दुर्गा पूजोत्सवलाई केवल धार्मिक कार्यक्रम मात्र नभई सामाजिक सद्भाव, मेलमिलाप र संस्कृतिको संरक्षण गर्ने अवसरका रूपमा लिइएको बताएका छन्।

