महोत्तरीको मटिहानीमा भिषण चोरी डकैती, तीन जना गम्भीर घाइते

मो. इसराफिल राइन

महोत्तरी, मटिहानी –
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ बिसनपुरमा गए राति करिब १२ बजे ठूलो चोरी डकैतीको घटना भएको छ। 

मङ्गल महरा र बहादुर महराको घरमा करिब ३–५ जनाको समूहमा आएका अज्ञात चोरहरूले धारिलो हातहतियार प्रहार गर्दै घरका सदस्यहरूलाई घाइते बनाएर लाखौँ बराबरका गरगहना, सामग्री र नगद रकम चोरी गरेका छन्।

घटनामा मङ्गल महाराकी पत्नी अंदाजी ५० वर्षीया सैलो देवी, छोरी मनिषा कुमारी र छोरा संजीव महरा गम्भीर घाइते भएका छन्। 

चोरहरूको समूहले धारिलो हातहतियार प्रयोग गरी उनीहरूलाई प्रहार गरेको र अहिले घाइतेहरूको उपचार जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डल घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँलाई घटनाबारे जानकारी वडा अध्यक्ष श्री मिश्री नायकले गराउनुभएको थियो।

नगर प्रमुख मण्डलले यस किसिमका आपराधिक क्रियाकलापले समाजमा आतंक सिर्जना गरेको भन्दै अपराधीहरूलाई छिट्टै पक्रेर कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले राति मध्यरातमा भएको उक्त घटनापछि असुरक्षाको भावना बढेको गुनासो गरेका छन्। घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको र दोषीलाई छिट्टै पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर