औरही १ का वडा अध्यक्ष चाैधरीको स्मरणमा श्रद्धाञ्जली सभा

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी(औरही) – औरही नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा श्री प्रसाद सिंह माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष योगी चौधरीको निधन भएको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

शुक्रवार राती चौधरीको असामयिक निधन भएको हो। उनको निधनले विद्यालय परिवार मात्र नभई समग्र स्थानिय समुदायमा शोकको छायाँ परेको छ।उनको निधन भएको शोक व्यक्त गर्दै विद्यालयले आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

श्रद्धाञ्जली कार्यक्रममा पुर्व अध्यक्ष योगी चौधरीको फोटो अगाडि फूल र अबिर चढाएर मृत आत्माको चिरशान्तिको कामना गरिएको थियो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवासरण यादव, नव निर्वाचित व्यवस्थापन समितिका अध्यक्ष नविन यादव लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूले एक मिनेट मौन धारण गरी निधन भएका अध्यक्षप्रति सम्मान व्यक्त गरेका थिए।विद्यालयले जारी गरेको वक्तव्यमा योगी चौधरीले विद्यालयको समग्र विकास र व्यवस्थापनमा आफ्नो योगदान पुर्‍याउन सदैव तत्पर रहँदै आएका उल्लेख गर्दै उनको निधनले विद्यालयले अपूरणीय क्षति बेहोर्नुपर्ने बताइएको छ।

साथै, विद्यालय परिवारले उनको आत्माको चिरशान्ति तथा दुःखमा परेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
स्थानिय समाजमा पनि योगी चौधरीको योगदान र सेवा सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ। उनी आफ्नो समर्पणशील नेतृत्व र मेहनतका कारण सबैको प्रिय व्यक्तित्वका रूपमा चिनिन्थे ।

प्रतिक्रिया
सम्बन्धित खबर