
महोत्तरी – महोत्तरी जिल्लाको बलवा नगरपालिका–३, वदियास्थित रातु नदीमा आएको आकस्मिक बाढीले एक जनाको ज्यान गएको छ।
मृतक महोत्तरी गाउँपालिका–३, डाम्हीका ३५ वर्षीय चन्दन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ। ठाकुर पडौलमा ट्याक्टरको डिजल किनेर साइकलसहित घर फर्किदै थिए ।घर फर्किने क्रममा झोलुँगे पुल पार गर्ने प्रयासगर्दा उनि नदीमा खसेका थिए।
स्थानीयवासीका अनुसार, उत्तरतर्फको लगातार वर्षाले रातु नदीमा पानीको बहाव अत्यधिक भएको थियो। “हामीले पुल पारी जान नदिन चेतावनी दिएका थियौं, तर उनी पिठ्युँमा साइकल बोकेर पार गर्न खोज्दा एक्कासि चिप्लिएर बगे,” एकजना स्थानियले भने। उनलाई तत्काल उद्धार प्रयास भए पनि तीव्र पानीको बेगका कारण उनलाई बचाउन सकिएन।
प्रहरी निरीक्षक नन्दकिशोर चौहानले शव प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टमपछि सोमबार परिवारको जिम्मा लगाइएको जानकारी दिए।