धनुषामा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या , एक महिला र एक अन्य बालिका घाइते

जनकपुरधाम – धनुषामा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या भएको छ भने एक महिला र एक अन्य बालिका गरी दुईजना घाइते भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या भएको हो र दुईजना घाइते भएको धनुषा प्रहरीले जनाएको छ।

जनकपुरधाम ४ को कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको छ।अञ्जलीको घाँटी काटिएको छ ।अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर–४ स्थित सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहार गरेर १५ वर्षकी अञ्जलीको हत्या गरेका हुन् भने आशा र राधा यादवमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ ।अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् ।मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो ।उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खबर