महोत्तरीमा ३० प्रतिशत मात्र धान रोपाई

 धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी(औरही) – देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेश यस वर्षको प्रतिकूल मनसुनका कारण गम्भीर संकटमा परेको छ। लामो समयदेखि वर्षा नहुनुका कारण धान रोपाइँ कार्य अत्यन्त प्रभावित भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। 

विशेष गरी महोत्तरी जिल्लामा अवस्था झनै भयावह देखिएको छ, जहाँ अहिलेसम्म केवल ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ। खेतहरूमा पानी नपरेपछि माटो फुट्न थालेको र बिउ सुक्न थालेको स्थानीय किसानहरूले बताएका छन्। औरही नगरपालिका–२ का किसान दिनेश यादव भन्छन्,

“खेत सुकेर चिरा परेको छ, सिँचाइको कुनै सुविधा छैन। यति बेला पानी नपरे धान रोप्न सकिन्न, खाद्यान्नको चरम अभाव आउने खतरा छ।” सिंचाइका वैकल्पिक उपाय नभएकाले किसानहरू पानी ट्यांकरको भर पर्न बाध्य छन्। तर त्यो पनि पर्याप्त छैन। पानीको चरम अभावले गर्दा खेत खालि राख्नुपर्ने अवस्था आएको यादवको भनाइ छ। स्थिति गम्भीर बन्दै गएपछि संघीय सरकारले मधेशलाई आगामी तीन महिनाका लागि विपद् क्षेत्र घोषणा गरिसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खा प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षणसमेत गरेका थिए। तर किसानहरूले भने सरकारी राहत र सहयोग कार्यक्रम प्रभावकारी नदेखिएको गुनासो गरेका छन्।

 औरही नगरपालिका कृषि शाखा प्रमुख कविता बिष्ट भन्छिन्,“हामी स्थानीय तहबाट राहत तथा सिँचाइको लागि पहल गर्दैछौं। तर संघ र प्रदेश सरकारबाट समयमै ठोस सहायता नआउँदा किसानहरूको पीडा बढ्दो छ।” बिष्टका अनुसार कृषकहरूको बिउ, मल र डोजरका लागि तत्काल सहायताको खाँचो छ। यदि अबको केही दिनभित्र वर्षा नपरे, सिँचाइको वैकल्पिक उपाय ननिकाले, भने वर्षभरिका लागि खाद्यान्न संकट सिर्जना हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। 

यसैबीच, कृषि ज्ञान केन्द्र महोत्तरीले समेत सिञ्चाइका लागि आकस्मिक योजना आवश्यक रहेको बताएको छ। केन्द्रले प्रभावित क्षेत्रमा डिप बोरिङ, पानी ट्यांकर,डोजर सहयोग र राहत प्याकेज तुरुन्त उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर