महोत्तरी – महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा अहिले गम्भीर खानेपानी संकट उत्पन्न भएको छ। गाउँभर पानीको यस्तो चरम अभाव छ कि स्थानीय बासिन्दाहरू बिहानैदेखि जार, बाल्टीन र गाग्री बोकेर लामो लाइनमा उभिन बाध्य छन्। घरमा न त पिउन पानी छ, न खेतबारीमा सिंचाइ गर्न मिल्ने अवस्था।
खासगरी गर्मी बढेसँगै भू-जल तह खस्किएको, इनार र नलकुप सुकेको, तथा वैकल्पिक स्रोतहरू नहुँदा जनजीवन अत्यन्तै कष्टकर बनेको छ। तर यस्तो संकटपूर्ण अवस्थामा समेत सम्सी गाउँपालिका कार्यालय भने बन्द रहेको, ढोका बाहिरै ताल्चा लागेको स्थानीयहरूले गुनासो गरेका छन्।
“जनता भोकै, प्यासै छन्, तर पालिका बन्द छ,” एक स्थानीय बासिन्दाले आक्रोश पोख्दै भने, “पालिका जनप्रतिनिधि र कर्मचारीहरू सम्पर्कमै छैनन्, न त कुनै छलफल भएको छ, न त समाधानको संकेत देखिएको छ।”
स्थानीयहरूका अनुसार गाउँपालिकाले हालसम्म कुनै आपतकालीन योजना बनाएको छैन, न त वैकल्पिक व्यवस्था मिलाइएको छ। प्रदेश वा संघ सरकारसँग समन्वय गरी सहयोग माग्ने प्रयाससमेत नभएको आरोप उनीहरूको छ।
कार्यदल गठनको माग
सामाजिक अभियन्ता तथा माओवादी केन्द्रका स्थानीय नेता शाहबाज हैदरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “ताल्चा लगाएर समस्या भाग्दैन, जनता बोल्न थालेपछि आवाज दबाउन सकिँदैन।” हैदर गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट सम्सी गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत थिए।
स्थानिय सरोकारवालाहरूले सम्सी गाउँपालिकासँग तत्काल आपतकालीन कार्यदल गठन गरी खानेपानी र सिंचाइ संकटको अस्थायी तथा दीर्घकालीन समाधानतर्फ कदम चाल्न माग गरेका छन्। साथै, प्रदेश तथा संघ सरकारसँग स्रोत, उपकरण र सहयोग माग्न समेत पहल गर्न आग्रह गरिएको छ।
मधेशमै चर्किंदै समस्या
यो समस्या केवल सम्सी गाउँपालिकासम्म सीमित नरही मधेश प्रदेशका धेरै ठाउँमा खानेपानी र सिंचाइको अभाव दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। जलवायु परिवर्तन, योजनाको अभाव र सरकारी उदासिनता मुख्य कारणका रूपमा देखिएका छन्।
स्थानीयहरू भन्छन्, “जनताको आधारभूत आवश्यकताको संवेदनशीलतासँग सम्बन्धित विषयहरूमा अब पनि सरकार गम्भीर बन्न सकेन भने यो संकट झनै भयावह बन्नेछ।”





