धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी –महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरीको मटिहानी नगरपालिकामा दुईवटा महत्वपूर्ण पूर्वाधार आयोजनाको समुद्घाटन गर्नु भएको छ।
शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आइपुग्नुभएको प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ ।
कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ । बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो ।
काठमाडौंबाट हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गर्नुभएको थियो ।
त्यसैगरी मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको औपचारिक उद्घाटन समेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ। एक करोड अठासी हजार रुपियाँको लागतमा श्री कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ठेक्का पाएको सो भवन २०८१ माघमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
मटिहानी नगरपालिका वडा ६ को जरलहवा गाछीभन्दा दक्षिणमा निर्माण गरिएको सो पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिलाहरु लाभान्वित हुने जनाइएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शैयाको अस्पताल बनाउन नसकिएको बताउनुहुँदै पाँच शैयाको प्रसुति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताउनुभयो ।
नवनिर्मित प्रसुतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिँग रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिग कोठा, शौचालय, सोधपुछ लगायतका सुविधा सम्पन्न कोठाहरु रहेका छन् । मटिहानीबासीहरुले प्रसुति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागी राम्रो हुने जनाएका छन् ।
प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय र नगरपालिकाले कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा पारेको छ भने स्थानीय बासिन्दामा उत्साह देखा परेको छ।
मटिहानी नगर प्रमुख मण्डलले मटिहानीको विकासका लागि यस्ता पूर्वाधार परियोजनाहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीको आगमनले थप योजना कार्यान्वयनमा प्रेरणा दिने बताउनुभयो ।
उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायतका उपस्थिती रहेको थियो ।





