प्राविधिक शिक्षासँग जोड्न श्री राम माध्यमिक विद्यालय मटिहानीका विद्यार्थीलाई ल्यापटप वितरण

मो. इसराफिल राईन

श्रावण २ गते ।

मटिहानी, महोत्तरी — महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।

 शैक्षिक सत्र २०८१ मा प्राविधिक शिक्षामा नामाङ्कन गरिएका विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने उद्देश्यले उक्त ल्यापटप बितरण गरिएको हो।

उक्त ल्यापटप वितरण कार्यक्रम महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शरत सिंह भण्डारीमटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले संयुक्त रूपमा वितरण गर्नुभयो ।

पालिकाका अनुसार नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत जोरकोषमा आधारित dell कम्पनिका Intel i5, 13th Generation का ल्यापटप विद्यार्थीहरूलाई प्रदान गरिएको हो।

ल्यापटप प्राप्त गरेका छात्र असजद राजाले, “हामीलाई अब अनलाइन कक्षा गर्न सजिलो हुने, साथै प्राविधिक विद्यार्थी भएकाले कोडिङजस्ता अभ्यासमा पनि सहजता हुने” भन्दै पालिका परिवारप्रति आभार व्यक्त गरे।
 त्यस्तै छात्रा काजल ठाकुरले पनि प्राविधिक विषयमा अभ्यास गर्न सजिलो हुने र अध्ययनमा सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरिन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा जोड्नु भनेको देशको दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने ठोस आधार भएको बताउनुभयो।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले यस्तो प्रविधिमैत्री पहलले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षातर्फ आकर्षित गर्ने बताउँदै विद्यालय र नगरपालिकाको सहकार्यमा अझ प्रभावकारी योजना अगाडि बढाउने आश्वासन दिनुभयो।

नगर प्रमुख श्री हरि प्रसाद मण्डलले, “यो ल्यापटपले प्राविधिक धारका विद्यार्थीलाई प्रविधिसँग जोड्ने कोसेढुङ्गाको काम गर्नेछ” भन्ने विश्वास व्यक्त गर्नुभयो।


सांसद तथा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भने, “देशको विकासका लागि युवाहरूलाई प्राविधिक शिक्षामा अगाडि बढाउनु आवश्यक छ। ल्यापटप वितरण जस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ सोच र उत्साह थप्नेछ।”

कार्यक्रममा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, प्रदेश सभाका नेता जैनुल राइन, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप-अनुसन्धान निर्देशक चन्दन झा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा नं. ३, ४, ६, ७, ८ र ९ का वडा अध्यक्षहरू, या.ल.ना. विद्यापीठका प्राचार्य हेम नारायण कर्ण, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय कुमार साह, पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, कार्यपालिका सदस्य, वडा सदस्यहरू, लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल, नेकपा माओवादीका उमा शंकर साह, नेकपा एमालेका जुगेश्वर खतवे, विभिन्न शाखाका प्रमुखहरू, अभिभावक, विद्यार्थीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले मटिहानी नगरपालिकाले शिक्षा र प्रविधिमा दिएको प्राथमिकताको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर