मटिहानीमा सिंचाईका लागि ३५ वटा विद्युतीय मोटर वितरण

 धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी- मटिहानी नगरपालिकाको समन्वयमा तथा दक्षिण कोरियाको KOICA र GGGI को सहयोगमा सञ्चालित जलवायु मैत्री कृषि परियोजनाअन्तर्गत आज भूमिगत जल सिंचाई प्रणाली प्रवर्द्धनका लागि ३५ वटा विद्युतीय मोटर वितरण गरिएको छ।

नगर प्रमुख हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नं. १, ३, ६, ७ र ९ का १४ वटा कृषक समूहलाई पूर्वमै जडान गरिएका बोरिङहरूमार्फत सिंचाईका लागि मोटर हस्तान्तरण गरिएको हो।

परियोजना व्यवस्थापक ईश्वर श्रेष्ठका अनुसार जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्दै कृषकहरूलाई जल व्यवस्थापनमा सशक्त बनाउने उद्देश्यले यो पहल गरिएको हो। “यस योजनाले भूमिगत जलस्रोतको प्रभावकारी उपयोग गर्दै कृषि उत्पादनमा स्थायीत्व ल्याउने अपेक्षा गरिएको छ,” श्रेष्ठले बताए। कार्यक्रममा सम्बन्धित वडाहरूका वडाध्यक्षहरू, GGGI का कृषि विज्ञ प्रदीप पोखरेल, कृषि शाखाका सह-संयोजक टंक प्रसाद उपाध्याय, विभिन्न कृषक समूहका प्रतिनिधिहरू तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

परियोजनाले मटिहानी नगरपालिका क्षेत्रका किसानहरूलाई जलवायु प्रतिरोधी कृषि अभ्यासतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर