नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा बालेन्द्र शाह प्रति आज महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले हार्दिक बधाई एवं शुभकामना दिएका छन।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको विशेष कार्यपालिका बैठकले नेपालको इतिहासमा मेयर पदबाट सोझै सार्वभौमसत्ता सम्पन्न गणतन्त्रात्मक राष्ट्र नेपालको गौरवशाली कार्यकारी प्रमुख प्रधानमन्त्री पदलाई सुशोभित पार्नु स्थानीय तहका हामी जनप्रतिनिधिहरुका लागि अत्यन्त हर्ष र गौरवको विषय बनेको र यसै क्षेत्रका धर्ती पुत्र महोत्तरी जिल्लावासी प्रथम पटक प्रधानमन्त्री हुनु पनि अभूतपूर्ण गौरवको प्रसङ्ग साबित भएको कुरा जनाएको छ।

त्यसै गरि सो बैठकले यस आनन्ददायक अविस्मरणीय क्षणको अवसरमा आज साँझ मटिहानी नगरपालिका मातहतका सबै कार्यालयहरूमा दीपावली गर्ने र नव-नियुक्त प्रधानमन्त्रीको सुस्वास्थ्य, दीर्घायु एवं कार्यकालको पूर्ण सफलताको कामनाको लागि आज प्रसिद्ध, पौराणिक जलाशय लक्ष्मी सागरमा भगवान लक्ष्मी नारायणको सन्ध्याकालीन विशेष आरती पूजन समेत गरिने निर्णय गरेको छ।






