मो. इसराफिल राइन
मटिहानी नगरपालिका-८ निवासी विजय कुमार साहले नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यही चैत्र २४ गते हुने सो महासंघको निर्वाचनका लागि साहले उम्मेदवारी दर्ता गर्दै आफ्नो प्राथमिकता उद्योगी तथा व्यापारी वर्गको हितमा केन्द्रित रहेको बताउनुभयो । “उद्योगी व्यवसायी र व्यापारीहरूको उत्थान, समृद्धि एवं सुरक्षाका क्षेत्रमा काम गर्नु नै मेरो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो । मधेश प्रदेशका उद्योगी तथा व्यापारीहरूको प्रतिनिधित्व गर्दै उहाँले प्रदेशस्तरीय चुनौतीहरूको समाधानका लागि सक्रिय भूमिका खेल्ने वाचा गर्नुभयो ।


यो निर्वाचनमा मधेश प्रदेशका ८ वटै जिल्लाका उद्योग वाणिज्य संघहरूबाट १८ जना अध्यक्ष र एसोसिएट संस्थाहरूबाट ३८ जना सदस्य गरी कुल ५६ जना मतदाता रहनेछन् । यो निर्वाचनले प्रदेशका उद्योग तथा व्यापार क्षेत्रको नेतृत्व चयन गर्नेछ ।
विजय कुमार साह नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य (वि.सं. २०७७-७९) सम्म तथा महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष (वि.सं. २०६३-२०७१) सम्म दुई कार्यकाल सफलतापूर्वक सम्हालेर उद्योग क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तित्व हुनुहुन्छ । उहाँको यो अनुभवले प्रदेशस्तरीय नेतृत्वमा थप प्रभावकारी योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

निर्वाचन चैत्र २४ गते हुने भएकाले उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ । उद्योगी तथा व्यापारी वर्गले यो निर्वाचनलाई प्रदेशको आर्थिक विकासको महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।





