महोत्तरी – मटिहानी नगरपालिका–८ मा नव–निर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ । स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको सो दुईतले भवन आज आयोजित एक समारोहबीच उद्घाटन गरिएको हो ।

नगर प्रमुख हरि प्रसाद मण्डल र वडा नं. ८ का अध्यक्ष रितेश कुमार साहले संयुक्त रूपमा भवनको समुद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले स्थानीय तह गठनपछि विभिन्न कारणले वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहरले करिब १६ धुरभन्दा बढी जग्गा उपलब्ध गराउनुभएको बताइएको छ । नेपाल सरकारको समपूरक अनुदान तथा मटिहानी नगरपालिकाको करिब रु ९५ लाख ११ हजार २२७ (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण गरिएको भवनमा चार कोठा, एक सभा हल तथा शौचालय–स्नानघरको व्यवस्था गरिएको छ । सो जानकारी नगरपालिकाका इन्जिनियर बिमलेश साहले दिनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख मञ्जु देवी साह, विभिन्न वडाका अध्यक्षहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।








