गुरुकुलमा सरस्वती मन्दिर निर्माण हुने, निरंजन प्रसाद साहद्वारा दान—चैत १९ मा शिलान्यास

मटिहानी महोत्तरी । “त चिता म पूरा गर्छु” भन्ने दिव्य विश्वास आज गुरुकुल परिवारका लागि यथार्थमा परिणत भएको छ। विगत तीन वर्षदेखि गुरुकुलले देख्दै आएको सरस्वती मन्दिर निर्माणको सपना अब साकार हुने भएको छ। 

गुरुकुलका अभिभावक तथा अग्रज, मानकी होटल जनकपुर र मटिहानी होटलका संस्थापक सञ्चालक एवं समाजसेवी दानवीर निरंजन प्रसाद साहले मन्दिर निर्माण गरिदिने संकल्प व्यक्त गरेपछि गुरुकुल परिवारमा खुशीको लहर छाएको छ।

हालै गुरुकुल परिसरमा मन्दिर निर्माणका लागि नापजोख सम्पन्न भइसकेको छ। यस महत्वपूर्ण कार्यले गुरुकुल परिवारलाई गौरवान्वित बनाएको छ। 

आगामी चैत १९ गते मन्दिरको शिलान्यास कार्यक्रम तय गरिएको छ। निर्माण कार्य पूरा भएपछि २०८३ सालदेखि सरस्वती पूजा गुरुकुल परिसरमै नव-निर्मित मन्दिरमा गरिने योजना रहेको छ।

गुरुकुलले लामो समयदेखि देखेको सपना साकार पार्न योगदान दिने निरंजन प्रसाद साह महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्। उहाँको उदारता र समाजप्रतिको उत्तरदायित्वले गुरुकुल मात्र नभई समग्र समुदायलाई प्रेरणा दिएको छ।

गुरुकुल परिवारले साहप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको परिवारजनको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिको कामना गरेको छ। गुरुकुलका प्रतिनिधिहरूका अनुसार, “धन सबैसँग हुन सक्छ, तर यसरी निस्वार्थ भावले दान गर्ने मन सबैसँग हुँदैन। गुरुकुलको आवश्यकताबारे कुरा राख्दा बिना कुनै आग्रह स्वयं मन्दिर निर्माणको जिम्मा लिनु साह परिवारको महानता हो।”

अन्त्यमा गुरुकुल परिवारले सरस्वती मातासँग यस्ता पुण्य कार्यमा सबैलाई प्रेरणा मिलिरहोस् भन्ने कामना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर