
धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – विश्वभरका मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक तथा अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५००औँ जन्मोत्सव ‘मोहम्मद डे’ अत्यन्त श्रद्धा, भक्ति र उल्लासका साथ मनाएका छन्।

यसै अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिकामा पनि मुस्लिम समुदायले बाजागाजासहित र्याली निकाल्दै मोहम्मद डे मनाएका हुन्। औरही नगरपालिका–१ स्थित मदिना ईदगाहबाट सुरु भएको र्याली नगरपालिकाका वडा १ र २ का विभिन्न भाग परिक्रमा गरी पुनः मदिना ईदगाहमै पुगेर सम्पन्न भएको थियो।

र्यालीमा सहभागीहरूले “नारा–ए–तकबीर, अल्लाहु अकबर” जस्ता धार्मिक नारासहित पैगम्बर मोहम्मदप्रति प्रेम र श्रद्धा व्यक्त गरेका थिए। यस दिन मुस्लिम परिवारहरूले घर–घरमा हरियो झन्डा राख्ने परम्परा निर्वाह गरेका थिए।
औरही नगरपालिका–१ निवासी रोजाई मन्सुरका अनुसार मोहम्मद डे का दिन गरिब तथा असहायलाई भोजन खुवाउने, सहयोग गर्ने र दान दिने धार्मिक परम्परा रहँदै आएको छ।

मुस्लिम धर्मगुरुहरूले पैगम्बर मोहम्मदको जन्म साउदी अरबको पवित्र भूमि मक्कामा बिबी आमिनाको कोखबाट भएको स्मरण गर्दै उहाँ इस्लाम धर्मका अन्तिम रसुल (सन्देशवाहक) भएको बताए। इस्लामले सम्पूर्ण मानवजातिलाई शान्ति, समानता, भाईचाराको सन्देश दिएको भन्दै धर्मगुरुहरूले मोहम्मद डे ले समाजमा धार्मिक सहिष्णुता र मानव सेवा गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे।

पैगम्बर मोहम्मदले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गर्नुभएको थियो। उहाँको जीवन र शिक्षाले आज पनि विश्वभरका मुस्लिम समुदायलाई मार्गदर्शन गरिरहेको छ।








