
धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – औरही नगरपालिकाले आईतवार सार्वजनिक विदा दिएको छ । औरही नगरपालिका वडा नं– १ का वडा अध्यक्ष योगी चौधरीको शनिबार भएको निधनप्रति शोक व्यक्त गर्दै आईतवार सार्वजनिक विदा दिने घोषणा गरेको हो । नगरप्रमुख प्रदिप कुमार खड्काले एक शोक विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष योगी चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै “पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध छु’’ भन्नुभएको छ ।

स्थानीय तहमा जनताको सेवामा समर्पित एक कर्मठ प्रतिनिधिको असामयिक निधनले सम्पूर्ण पालिकालाई शोकाकुल बनाएको विज्ञप्तिमा जनाइएको छ । ६५ वर्षीय चौधरी लोसपा पार्टीबाट स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्ष पदमा ५२९ मतले निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष चाैधरीको निधनमा शोक मनाउन आईतवार पालिका भित्रका सबै कार्यालयहरु नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) का सबै सेवा बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ।

त्यसैगरी वडा अध्यक्ष जोगी चौधरीको दुःखद निधन भएको खबरले सम्पूर्ण लोसपा पार्टी शोकाकुल बनेको लोसपा पार्टीका नगर संयोजक दरेश यादवले जनाउनु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शुभेच्छुक, नेता तथा कार्यकर्ताहरूले उहाँको आत्माको चिरशान्ति र बैकुण्ठवासको लागि माता सोनामाईसमक्ष प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गरेका छन्।

वडा अध्यक्ष चौधरीको अन्त्येष्टिमा लोसपाका वरिष्ठ नेता तथा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, औरही नगर प्रमुख प्रदीप कुमार खड्का, लोसपा नगर संयोजक दरेश यादवसहित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी भए। अन्त्येष्टिमा सहभागी नेताहरुले पार्टीको तर्फबाट स्वर्गीय चौधरीलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको झन्डा ओढाएर अन्तिम सम्मान गरेका थिए।

त्यसैगरी, महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री भरत साह,प्रदेश सांसद जैलुन राइन,रमिता प्रधान र बर्दिवास नगरपालिका प्रमुख पहलाद क्षेत्री पनि अन्त्येष्टिमा सहभागी भएका थिए। उपस्थित सबैले मृतकको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए।





