मो. इसराफिल राइन
मटिहानी, महोत्तरी । मटिहानीमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि वडा दशैं (दुर्गा पूजा) धुमधामका साथ मनाउने तयारी सुरु भएको छ। आगामी असोज ६ गते देखि सुरु हुने दुर्गा पूजाको व्यवस्थापनका लागि श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीले आज आम भेला (बैठक) आयोजना गरी नयाँ कार्य समिति गठन गरेको छ।

मटिहानी नगरपालिका नगर प्रमुख श्री हरि प्रसाद मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले यस वर्षको दुर्गा पूजाको कार्य समितिको अध्यक्षमा मटिहानी–६ निवासी एवं महोत्तरी जिल्ला समन्वय समितिका सदस्य राम लखन पंजियारलाई सर्वसम्मतिले पुनः चयन गरेको छ।
त्यस्तै, समितिको उपाध्यक्षमा तलेबर मण्डल, कोषाध्यक्षमा मनोहर कापर र सचिवमा दिलिप महरा चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मण्डलले नवगठित समितिलाई बधाई दिँदै यस वर्षको दुर्गा पूजा पहिलेभन्दा अझ भव्य, व्यवस्थित र हर्षोल्लासपूर्वक मनाइने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो।

नव निर्वाचित अध्यक्ष राम लखन पंजियारले समितिमा दोहोरिएर जिम्मेवारी पाउँदा आफू गौरवान्वित भएको बताउँदै दुर्गा पूजाको सम्पूर्ण तयारीलाई सफल बनाउने क्रममा सम्पूर्ण मटिहानीवासीको साथ र सहयोगको अपेक्षा राखेका छन्।





