मटिहानीमा ३९ किसानलाई सिंचाइका लागि मोटर वितरण

महोत्तरी – मटिहानी नगरपालिकामा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना अन्तर्गत सिंचाइ समस्यामा परेका ३९ जना किसानलाई मोटर वितरण गरिएको छ।

नगरपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट र रतौली युवा क्लब (RYC) को सहकार्यमा आयोजित कार्यक्रममा लागत सहभागितामा मोटरसहितको बोरिङ जडान गरिएको हो।

बुधबार नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि शाखा प्रमुख संध्या साहले सिंचाइ सुविधाको अभावले समस्यामा परेका किसानहरूलाई लक्षित गर्दै मोटर वितरण गरिएको जानकारी दिइन्।

उक्त कार्यक्रममा वडा नं. ३ का अध्यक्ष नाजिर मिया, वडा नं. ६ का अध्यक्ष कलिम अन्सारी, वडा नं. ८ का अध्यक्ष रितेश साह, वडा नं. ९ का अध्यक्ष मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, प्राविधिक शाखा प्रमुख चन्देश्वर यादव, हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत मिथलेश झा, RYC प्रतिनिधि कृष्णबहादुर भूल र परियोजना संयोजक महेश राय यादवको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले उत्पादनमुखी कृषि प्रणाली विकास तथा युवा उद्यमशीलता प्रवर्धनमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, जलस्रोतको उचित उपयोग गर्दै आधुनिक प्रविधिको माध्यमबाट उत्पादन वृद्धि गर्न किसानहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर