धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी –समयमै वर्षा नहुन र सिंचाइ सुविधाको अभावका कारण महोत्तरी लगायत तराईका विभिन्न जिल्लाका किसानहरू गम्भीर संकटमा परेका छन्। साउन दाेश्रो साता वित्दा पनि खेत सुक्खा छन्।
रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका,महोत्तरी,बलबा,मटिहानी क्षेत्रका किसानहरूका अनुसार न त आकाशबाट पानी परेको छ, न त मोटर चलाउने विद्युत् पर्याप्त रूपमा आएको छ। मोटर चलाउन खोज्दा भोल्टेज कम हुने, कहिले-काहीँ बिजुली नै नआउने गुनासो किसानहरूले गरेका छन्। “पानी नआएपछि खेत रोप्न सकिएन, खेत बाँझै राख्नुपरेको छ। भोकमरीको डर छ,” रामगोपालपुर नगरपालिका वडा २ का किसान राम सुदिस यादवले बताउँछन्।
सम्सी गाउँपालिका-५ का किसानहरू भन्छन्, “हामी बाँझो खेत हेरेर दिन कटाइरहेका छौं। स्थानीय सरकारको तर्फबाट पनि अहिलेसम्म कुनै राहत वा वैकल्पिक व्यवस्था भएको छैन।” कृषि मुख्य पेसा भएको यस क्षेत्रमा धान खेती आयआर्जन र खाद्य सुरक्षाको मुख्य आधार हो।
धान रोप्न नपाएमा त्यसको असर वर्षभरिको जीवनमा पर्छ। स्थानीय तहका प्रतिनिधिहरूले भने पानीको समस्या समाधान गर्न पहल भइरहेको बताए पनि किसानहरू चाहिँ तत्काल समाधान नआए गम्भीर संकट आउने बताउँछन्।





