प्रधानमन्त्री ओलीले रौजा मजार सरिफमा चादर चढाए

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको बलवा नगरपालिकास्थित प्रसिद्ध रौजा मजार सरिफमा चादर चढाउँदै धार्मिक सहिष्णुता र पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्।

महोत्तरीको रातु नदीमाथिको पुल उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यही अवसरमा नजिकै रहेको मजारमा पुगेर मुस्लिम समुदायका सुफी सन्तहरूप्रति श्रद्धा व्यक्त गरे ।

रौजा मजारलाई नेपालको अजमेर सरिफ भनेर समेत चिनिन्छ। यहाँ बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहका दरगाह (समाधिस्थल) अवस्थित छन्। हिन्दु र मुस्लिम समुदायबीच धार्मिक सद्भावको प्रतिकका रूपमा रहेको यो मजारमा दैनिक हजारौं श्रद्धालु भक्तजन पुग्ने गर्दछन्।

प्रधानमन्त्री ओलीले मजार सरिफ विकास समितिका पदाधिकारीहरूसँग भेट गरी मजारको वर्तमान अवस्था र आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिए । समितिका अध्यक्ष समिल राईनले प्रधानमन्त्रीलाई मजारको ऐतिहासिकता, धार्मिक महत्व तथा बाबाहरूको योगदानका बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले रौजा मजार सरिफलाई धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा व्यवस्थित ढंगले विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

“मजारको विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।प्रधानमन्त्रीसँगै संघीय सरकारका श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी, लोकतान्त्रिक पार्टीका मधेश प्रदेश संसदीय दलका नेता जयनुल राईनलगायत प्रतिनिधिमण्डल पनि मजार सरिफमा पुगेर दर्शन तथा चादर चढाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर