मो. इसराफिल राइन
महोत्तरी, मटिहानी — मटिहानी नगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लक्ष्मी सागरमा आज बेलुका भगवान लक्ष्मी नारायणको सन्ध्या आरतीको पाँचौँ वार्षिक उत्सव धूमधामका साथ मनाइँदैछ।
धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने लक्ष्मी सागर त्यही पवित्र पोखरी हो, जहाँबाट भगवान राम र देवी सीताको विवाहको समयमा बेदी निर्माण गर्न माटो खनिएको जनविश्वास रहिआएको छ।

यही स्थलमा हरेक हप्ताको बिहीबार बेलुका सन्ध्या आरती सञ्चालन हुँदै आएको छ, जसले विगत पाँच वर्षदेखि समुदायमा धार्मिक चेतना, एकता र सांस्कृतिक जागरण फैलाउँदै आएको छ।
यस विशेष अवसरमा आज दिनको ३ बजेबाट धार्मिक जात्रा निकालिनेछ, जसले सम्पूर्ण मटिहानी गाउँको परिक्रमा गर्नेछ। त्यसपछि बेलुका ५ बजेबाट विशेष वार्षिक उत्सव समारोह सुरु हुनेछ। कार्यक्रमअन्तर्गत भजन–कीर्तन र महा आरती आयोजना गरिनेछ।

उक्त कार्यक्रम मटिहानी नगरपालिका र लक्ष्मी सागर तथा आरती व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुँदैछ।
आरती समितिका संरक्षक तथा मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलले सम्पूर्ण नगरवासी र ग्रामवासीलाई महाआरती तथा समारोहमा सहभागी भई धार्मिक ऊर्जा र सामूहिक एकता प्रदर्शन गर्न अनुरोध गर्नुभएको छ।

साथै उहाँले आज बेलुका आ–आफ्नो घरमा दीप प्रज्वलन गरी दीपावलीको रूपमा उत्सव मनाउन समेत आग्रह गर्नुभएको छ।
कार्यक्रममा स्थानीय धर्मप्रेमी, समाजसेवी, महिला तथा युवा समूह, बालबालिका र सांस्कृतिक टोलीहरूको सहभागिता रहनेछ। यस प्रकारको कार्यक्रमले मटिहानी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।





