गौशाला बजारको राजश्व संकलनमा विवाद

सन्तोष सिंह,महोत्तरी – गौशाला बजारमा गोरु तथा खसी बजारको राजश्व संकलन गर्ने विषयमा विवाद भएको छ । गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच पशु बजार ठेक्का तथा राजश्व संकलन गर्ने विषयमा विवाद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

निगौल गाई गौशालाले कर्मचारी खटाएर अमानतमा राजश्व संकलन प्रक्रिया अगाडि बढाउँदा नगर प्रहरीले अवरोध गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालयबीच २०७० मा गोरु र खसी बजार ठेक्काबापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरेको छ ।

तर, गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ ।

पशुहाट लगाइने ठेक्काबाट २५ प्रतिशत रकम नगरपालिकाले गाई गौशालालाई दिने सहमति गरेको छ । तर नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर