धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी- महोत्तरीको गौशालामा एक युवाले आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाउने भयावह घटनामा पीडितको मृत्यु भएको छ । घटनामा संलग्न व्यक्ति भारतबाट पक्राउ परेका छन् ।
गौशाला नगरपालिका–४, रजखोरका ३० वर्षीय सुरेन्द्र साहले असार २६ गते(बिहिबार)दिउँसो करिब ११ बजेको समयमा आफ्ना छिमेकी ५० वर्षीय बलिराम साहमाथि पेट्रोल छर्केर आगो लगाएका थिए । घटना लगत्तै फरार रहेका सुरेन्द्रलाई इलाका प्रहरी कार्यालय गौशालाको टोलीले बिहिबार भारतबाट पक्राउ गरेको जनाएको छ ।
पीडित बलिराम साह आफ्नै घर नजिकैको रुखमुनि राखिएको खाटमा आराम गरिरहेका बेला सुरेन्द्रले एक्कासी पेट्रोल छर्केर आगो लगाएको बलिरामकी श्रीमती कुमारी देवीले बताइन् । उनका अनुसार आगो लगाउँदा वरपर कोही नभएकाले उद्धारमा ढिलो भयो । नजिकैको पसलमा बसिरहेका एक बालकले घटनालाई देखेर सहयोगको प्रयास गरे पनि असफल भएपछि हारगुहार गरेका थिए ।
घटनापछि गम्भीर रूपमा जलेका बलिराम साहलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको थियो । तर, उपचारकै क्रममा बिहिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीका अनुसार आरोपी सुरेन्द्र साह दुई महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । स्थानीय बासिन्दाका अनुसार उनी लागूपदार्थ दुर्व्यसनमा लिप्त थिए र अक्सर छरछिमेकसँग विवाद गर्ने गर्थे । गाउँका एक युवाले सुरेन्द्रले नशाको प्रभावमा रहेकै बेला बलिरामलाई आगो लगाएको बताए ।
यो घटनापछि गाउँमा त्रासको वातावरण फैलिएको छ । मृतक बलिरामकी पत्नी कुमारी देवीले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेकी छन् । बलिरामका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।





