धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – औरही नगरपालिकामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक र्याली प्रदर्शन गरिएको छ।लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा औरही नगरपालिका वडा नम्बर १ का दुई ओटा निजि बिधालयले जनचेतनामूलक र्याली निकालेका हु्न्।

खासगरी टोल,गाउ,नगरपालिका सहित सीमावर्ती क्षेत्रमा बढी मात्रामा देखापरेको यस्ता समस्या समाधान गर्न सकारात्मक संदेश प्रवाह हुने उद्देश्यले औरही नगरपालिका वडा नम्बर १ मा रहेको चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी बिधालय र द सनराईज इंग्लिश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजनामा प्ले कार्ड सहित निकालिएको जनचेतनामूलक र्याली प्रभावकारी सावित भएको चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी बिधालय संचालक कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो ।

लागूऔषध नियन्त्रण गर्न सीमामा निगरानी बढाएको प्रहरीले बताएपनि लागूऔषध ओसारपसार हुने क्रम भने रोकिएको छैन । महोत्तरीका विभिन्न सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताएपनि लागूऔषध कारोबार यथावत रहेको हो । ‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै औरही नगरपालिका वडा नम्बर १ मा रहेको स्वास्थ चौकीका डॉक्टर रामचन्द्र यादव लागू औषध रहित समाज निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए।देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै डॉक्टर यादवले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गरे। लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी हुन्’ यादवले भने, ‘यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही त हुन्छ नै।

यसले स्वयम् प्रयोगकर्ताको स्वास्थ्यमा असर पार्नुका साथै देशको सामाजिक र आर्थिक अवस्था पनि कम्जोर बनाउँछ।’उनले लागूपर्दाथ प्रयोग कर्तालाई पुनस्थापन गरी आयआर्जनका क्षेत्रमा लगाउन पनि आग्रह गरे। यसका लागि सबै भन्दा ठुलो भूमिका परिवार स्वयम्को हुनुपर्ने डॉक्टर यादवले बताए। लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको कार्यक्रम चलीरहेको बेला एक जना स्थानीय नागरिक जितेन्द्र यादवले स्थानीय तह र सामुदायिक विद्यालयहरूको न्यून सहभागितामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले नगरपालिका र विद्यालय प्रशासनले यस्ता संवेदनशील सामाजिक विषयमा चासो नदेखाउनु दुःखद भएको बताए।

साथै,पालिकाभित्र रहेका विभिन्न युवा तथा बाल क्लबहरू पनि यस्ता महत्वपूर्ण कार्यक्रममा निष्क्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्दै यादवले युवालाई समाज परिवर्तनको आधार मानिए पनि व्यवहारमा उनीहरूलाई सक्रिय गराउन पहल नहुनु खेदजनक रहेको उल्लेख गरे।लागूऔषध प्रयोगकर्ता तथा कारोबार बढेपछि यस्ता कारोबार रोक्न समाजमा सकारात्मक संदेश दिने उद्देश्यले चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी बिधालय र द सनराईज इंग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरुले वडा नम्बर २ स्कुल चौक देखि वडा नम्बर १ औरही बजार सम्म दुवै बिधालयका संचालकको नेतृत्वमा विशाल र्याली सचेतना कार्यक्रम गरिएको हो ।

दुई बिधालयद्वारा संचालित “मदिरा तथा लागुऔषध विरुद्धको अभियान सप्ताह” दुवै निजि बिधालयको संयुक्त समन्वयमा सो कार्यक्रम उल्लेख संख्यामा रहेको विद्यार्थीहरुको सहभागितामा सम्पन्न गरिएको थियो ।















