महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय रुपेश महतोको सर्प टोकेको कारण मृत्यु भएको छ ।सव डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई राती करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक टाेकेको थियो । तत्काल उनलाई बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइए पनि उपचारकै क्रममा बिहान ५:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । रुपेशलाई अस्पतालमा बिहान ४:४७ बजे भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक महतो डिभिजन वन कार्यालय अन्तर्गत साझेदार वन उपभोक्ता समूह – लक्ष्मिनियामा कार्यरत थिए। करिब एक वर्षदेखि उनले सोही वनमा भान्से (खाना पकाउने) का रूपमा सेवा दिइरहेका थिए। उनका बुबा राजकुमार महतो र आमा सुदिना देवी महतो रहेका छन्। सुदिना देवी महतो पनि सोही वनमा करार सेवामा कार्यरत रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले जानकारी दिए ।
“बस्ने न ठाउँ, सुत्ने न सुरक्षा” – परिवारको गुनासो
मृतकका परिवारजनले डिभिजन वन कार्यालयकै गम्भीर लापरबाहीले रुपेशको मृत्यु भएको दाबी गरेका छन्। “सुत्ने कोठा असुरक्षित थियो, कोठाभित्र सरसफाइको व्यवस्था थिएन, झ्याल ढोका खुलेको, घाँसपात र झाडी आसपास उस्तै,” परिवारको भनाइ छ ।
सर्प प्रवेश गर्न नदिने किसिमको संरचना नहुनु, झिँगटी वा सुरक्षात्मक उपाय नगर्नु, तथा राति ड्युटीमा रहेका कर्मचारीको सुरक्षाप्रति कार्यालयको उदासीनता देखिएको परिवारजनको आरोप छ ।
साथै, डिभिजन वन कार्यालयले करारमा कार्यरत कर्मचारीहरूलाई न त पर्याप्त सुत्ने सुविधा दिएको छ, न त आकस्मिक स्वास्थ्य संकटका लागि कुनै तयारी राखेको, भन्ने गम्भीर आरोप पनि उनीहरूले लगाएका छन् ।
कम उमेरका मजदुर, जोखिममा जीवन
सार्वजनिक सेवामा कम उमेरका किशोरलाई जोखिमपूर्ण स्थानमा काम लगाउनु आफैँमा आपत्तिजनक रहेको भन्दै स्थानीय समुदाय र मानव अधिकारकर्मीहरूले समेत चिन्ता व्यक्त गरेका छन्। करिब १७ वर्षीय किशोरलाई बनजस्तो जोखिमयुक्त क्षेत्रमा रातको समयमा काम लगाइनु र पर्याप्त सुरक्षा नहुनु राज्यको चरम लापरबाही भएको उनीहरूको भनाइ छ।
वन कार्यालय मौन, छानबिनको माग घटनापछि डिभिजन वन कार्यालयले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। तर, मृतकका परिवारजन, स्थानीय नागरिक र सरोकारवालाहरूले घटनाको गम्भीर छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन्। साथै, करार सेवामा कार्यरत कर्मचारीको सुरक्षाको ग्यारेन्टीसहित भविष्यमा यस्ता दुर्घटना नदोहोरिन आवश्यक प्रबन्ध गर्न मागसमेत गरिएको छ।





