महोत्तरी ज्येष्ठ १४ गते ।
बालविवाह नगर्ने किशोरीहरूको लागि मटिहानी नगरपालिकाद्वारा मटिहानीमा आयोजित १ महिने मिथिला पेन्टिङ सिप विकास तालिम आज विधिवत सम्पन्न भएको छ।

यसैबीच सहभागीहरूलाई मटिहानी नगरपालिकाका प्रमुख (मेयर) हरि प्रसाद मण्डलले प्रमाणपत्र वितरण गर्नुभयो।
सो अवसरमा उहाँले मिथिला क्षेत्रको प्रसिद्ध मिथिला पेन्टिङले किशोरीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भन्नुभयो ।

मटिहानी नगरपालिकाले पालिकामा बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले बालविवाह नगर्ने किशोरीहरूको लागि सञ्चालन गरिएको उक्त तालिम एक महिनासम्म चलेको र यसमा वडा नम्बर ६, ७ र ८ का ३० जना किशोरीहरूलाई उक्त तालिम दिएको कुरा पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा कुमारी दासले बताउनुभयो।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष कलिम अन्सारी, वडा नं ७ का वडा अध्यक्ष जितनारायन माझी, वडा नं ८ का वडा अध्यक्ष रितेश साह, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दास र प्रशिक्षक सुलोचना कर्णले मिथिला पेन्टिङको महत्व लगायतका विषय बारे प्रकाश पार्नुभयो ।






