पर्यटक गंतव्य बन्दै मटिहानी

मटिहानी (महोत्तरी): मुलुकभरिकै मठहरुको नायक लक्ष्मीनारायण मठ । मठसँगै जोडिएको रामायणकालीन कथानकभित्रको रामसीताको विवाह हुँदा वेदी बनाउन माटो झिकिएको पवित्र लक्ष्मीसागर (तलाउ) । तलाउको दाँया-बाँया ३०३ वर्ष पुरानो मुलुककै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) । महोत्तरी जिल्लाको सुदुर दक्षिणपूर्वी भारतसँग सीमा जोडिएको मटिहानी नगरका यी पुराना वैभव हुन् ।


आफ्नो ठाउँको विशेषतासँग जोडिएका यी वैभवप्रति मटिहानीबासी गर्व गर्छन् । “हाम्रो ठाउँमा मठहरुको नायक मठ छ, यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् , लक्ष्मीसागरले हाम्रो पौराणिक गाथा उजेल्याएको (उज्यालो बनाएको) छ” मटिहानी नगरपालिका-८ का बासिन्दा हेमनारायण लाल कर्ण भन्नुहुन्छ, “यहाँस्थित संस्कृत माध्यमिक विद्यालय र कलेज (विद्यापिठ) मा मुलुकका विभिन्न भेगका विद्यार्थी पढ्न बसेका छन् , लाग्दछ, हाम्रो ठाउँ सबै भाषाभाषी र जातजातिको साझा फुलबारी हो ।”
त्यस्तै मटिहानी-७ स्थित मुस्लिम समुदायका पीरबाबा मजारको पनि आफ्नै धार्मिक महत्व रहेको छ यहाँ प्रत्येक दिन हिन्दू मुस्लिम दुइटै समुदायका मानिस दुआ (पूजा) गर्न जान्छन।
यस मजारमा गरिएको भाकल पूरा हुने जन बिश्वाश रहेको छ ।
मटिहानीका यी बाहेक वडा नं.-८ स्थित प्रतापी थान मन्दिर, वडा नं.-७ स्थित राघोबाबा मन्दिर र वडा नं.-६ स्थित पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिरलाई पनि खास स्थलको परिचयसँग जोड्न मटिहानीबासी छुटाउँदैनन् । यी पुराना वैभवसँगै पछिल्ला तीन/चार वर्षयता निर्माण भएका धार्मिक र अन्य विकास संरचनाले आफ्नो नगरको महत्ता झनै बढाएको मटिहानीबासी बताउँछन् ।

“हेर्नोस, पछिल्लो स्थानीयतह निर्वाचनयता मटिहानीमा निर्मित संरचनाले हाम्रो ठाउँ थप उज्यालो र रमणीय बनेको छ” मटिहानी बजारमा निर्मित घण्टाघर, जलेश्वर-मटिहानी सडक र मटिहानी-जनकपुर सडक (रामजानकीपथ) मा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, मटिहानी बजार समिप निर्मित अत्याधुनिक अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि नै हालै निर्माण सम्पन्न भएको भव्य दुर्गा मन्दिर र राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित अन्नपूणर् भोजनालय देखाउँदै बजारका एक ब्यापारीले भने, “यिनले हाम्रो पहिलेदेखिको धार्मिक पहिचान बढाउन थप सहयोग गरेका छन् ।” यी निर्मित नयाँ संरचनामध्ये अन्नपूणर् भोजनालय नेपाली सेनाको परिकौलीस्थित रणभीम गणले र अन्य सबै मटिहानी नगरपालिकाले निर्माण सम्पन्न गराएका हुन् ।

“मटिहानी नगरपालिकाले निर्माण गरेको ५१ फिट अग्लो घण्टाघरको माथि पुगेर मटिहानी नगरमात्र हैन, छिमेकको भारतीय बजार मधवापुर पनि मज्जाले अवलोकन गर्न सकिन्छ” मटिहानी-७ का ७५ वर्षीय इस्लाम धर्मावलम्वी सुभान कवारी भन्नुहुन्छ, “पछिल्लो कालमा निर्माण भएका विकास संरचनाहरुले मिथिला संस्कृति, परम्परा र स्थानीय पहिचानको पक्ष अझ चहकिला भएका छन् ।”ठ्याक्कै भारतीय सीमासँगैको मटिहानी बजार मिथिलाको माध्यमिकी परिक्रमासँग जोडिएको छ । फागुन शुक्लपक्षमा आयोजन हुने मिथिलाको महाकूम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्री विश्राम मटिहानीमै गर्ने परम्परा त्रेता युगमा मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी आदर्श नारी सीताको ‘मिथिला विहार’सँग सम्वन्धित रहेको मैथिल गर्वसाथ बताउँछन् ।

आफ्नो नगर संस्कृत शिक्षाको अध्ययनकेन्द्र, साधुसन्त परम्पराको प्रतीक र रामायणकालीन पौराणिक गाथासँग जोडिएको हुँदा यो परिचयलाई अझ मजवूत र दिर्घकालसम्म धार्मिक पर्यटनसँग गाँसी राख्न, ती सम्भावनाहरुको भरपूर उपयोग गर्न प्रयत्न थालिएको नगर प्रमुख हरि प्रसाद मण्डल बताउनुहुन्छ ।

“हामीले मटिहानीलाई हिन्दू परम्पराका पवित्र धार्मिकस्थल आफ्नै जिल्लाको जलेश्वर नगर, छिमेकको धनुषा जिल्लाको जनकपुरधाममात्र नभएर समान संस्कृति परम्परामा बाँधिएका मित्रराष्ट्र भारतमा पर्ने मधुवनी जिल्लाका कल्याणेश्वरस्थान, गिरिजास्थान र अन्य धार्मिक महत्वका ठाउँसँग जोड्न सक्नुपर्छ” नगर प्रमुख मण्डलले भन्नुभयो, “यी धार्मिकस्थलको माझमा रहेर यो प्रयत्नलाई हामीले प्राथमिकतामा राखेका छौं ।” पछिल्लो चरणमा गरिएका प्रयत्न धार्मिक पर्यटन वृद्धितर्फ केन्द्रित रहेको मण्डल बताउनुहुन्छ ।
मटिहानी भ्रमणसँगै पर्यटकको तालिकामा जलेश्वर, जनकपुर, कल्याणेश्वर र गिरिजास्थानसहितका ठाउँको अवलोकन रहने हुँदा वृहत्तर जनकपुर अवधारणअनुसार संरचनाहरुको संरक्षण र विकासमा केन्द्रित हुन आवश्यक रहेको मण्डलको थप भनाइ छ ।“हामीले मटिहानीबजार क्षेत्रलाई ‘फ्रि वाइफाई जोन’ बनाएका छौं” नगरप्रमुख मण्डलले अगाडि भन्नुभयो, “यसबाट आधुनिक प्रविधिको विकासलाई नयाँ पुस्तासँग जोडेर वैश्विक जानकारी बढाउने हाम्रो ध्येय हो ।” नगरको पौराणिक परिचय अझ उजागर गर्दै यहाँ धार्मिक पर्यटन अभिवृद्धि गर्न सकिने ध्येयले गरिएका/थालिएका कामका अतिरिक्त शिक्षा र स्वास्थ्यको कामलाई पनि महत्वका साथ अगाडि बढाइएको नगर प्रमुख मण्डल बताउनुहुन्छ ।

“हामीले विद्यालयको भौतिक र शैक्षिक विकासलाई अत्यन्त महत्व दिएका छौं, मैरै जारी कार्यकालभित्र अहिलेसम्म नगरका विभिन्न वडा बस्तीका विद्यालयमा नयाँ भवन बनाएका छौं” मण्डलले भन्नुभयो, “त्यसैगरी स्वास्थ्यको पहुँच सर्वसाधारणसम्म बढाउन यस अवधिमै पाँच ठाउँ स्वास्थ्यचौकी भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । यसबाहेक गरिब बस्तीहरुमा सात ठाउँ सामुहिक घर (बसघरा) बनाइएको मण्डलले बताउनुभयो ।
“हामीले सडक यातायातलाई निकै महत्व दिएका छौं” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “सिमित साधन, स्रोत र बजेटभित्रबाट पछिल्ला तीन वर्षको अवधिमा नगरभित्र २० किलोमिटरभन्दा बढी सडक पिसिसी ढलान गरिएको छ, धार्मिक पर्यटनसँगै कृषि प्रवद्र्धनलाई हामीले उच्च महत्व दिएका छौं ।” मटिहानी नगरभित्र मटिहानी-जलेश्वर, रामजानकी पथ, मटिहानी-पिपरा र मटिहानी-सहोडवा खण्डसहित करिब २० किलोमीटर सडक कालोपत्र भएको छ । यद्यपि यी सडकको स्तरोन्नति , नियमित मर्मतसम्भार र संरक्षणभने अपेक्षित हुन नसकेको मटिहानीबासी गुनासो गर्छन् ।

मटिहानीको विकासमा फड्को मार्नेगरी प्रयत्न थालिएपनि यसको सम्भार, सरसफाई र समुचित उपयोगको पक्ष प्रभावकारी हुन नसकेको गुनासो गर्न भने मटिहानीबासी छुटाउँदैनन् । मटिहानीबजार सरसफाईको दृटिले अत्यन्त अस्तव्यस्त रहेको र यसको कुशल व्यवस्थापनमा समुचित ध्यान नपुगेको मटिहानीबजारकै सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर साह बताउनुहुन्छ । नगरप्रमुख मण्डलले सरसफाईबारे बढेको चासो र गुनासो सम्वोधन हुने गरी कामलाई व्यवस्थित गरिने प्रतिवद्धता जनाउनु भएको छ ।
“सरसफाईसँग जोडिएर आएका गुनासा जायज छन्” नगर प्रमुख मण्डल भन्नुहुन्छ, “यो मुख्यत सामाजिक चेतना र दायित्वसँग जोड्न सक्नु पर्दछ, हामी सरसफाईको स्थायी समाधानका लागि सामाजिक जागरणका माध्यमले अघि बढ्छौं ।” नगरपालिकाको प्रयत्न वा पहलकदमीबाटमात्र यसको दिर्घकालीक सम्वोधन हुन नसक्ने हुँदा सामाजिक सङ्घ संस्था , महोत्तरी उद्योग वाणिज्य सङ्घ र अन्य सरोकारवालासँग संयुक्त पहलकदमी गरिने मण्डल बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर