गाैशाला – १२ मा वैदेशिक रोजगारमा रहेका युवाहरूको आर्थिक सहयोगमा चौतारा निर्माण

महोत्तरी – विदेशमा रहे पनि गाउँको माया र जिम्मेवारी बिर्सन नसक्ने भावना राख्ने युवाहरूले उदाहरणीय कार्य गरेका छन् । गौशाला नगरपालिका वडा नं.१२ स्थित एघार नं.को विसहारा थान नजिक पुर्व पट्टी वैदेशिक रोजगारमा रहेका युवाहरूको पहल तथा आर्थिक सहयोगमा “सामाजिक काम चौतारा” निर्माण गरिएको छ ।

विदेशी भूमिमा पसिना बगाइ रहेका युवाहरूले सामाजिक संजाल तथा आपसी सम्पर्कमार्फत अभियान चलाउँदै चौतारा निर्माणका लागि रकम संकलन गरेका थिए । उनीहरूको सामूहिक सहयोगबाट जम्मा भएको रु १,५५,४४६ (अक्षरेपी: एक लाख पचपन्न हजार चार सय छ्यालिस) खर्च गरेर चौतारा निर्माण कार्य सम्पन्न गरिएको हो । चौतारा निर्माण समितिका अध्यक्ष कपलेश्वर महतोले यो कार्य सम्पूर्ण रूपमा युवाहरूको देशप्रेम, समुदाय प्रतिको जिम्मेवारी र एकताको उत्कृष्ट उदाहरण भएको बताए।

उद्घाटन समारोहमा वैदेशिक रोजगारमा रहेका युवाहरूले पठाएको रकमद्वारा सम्पन्न यो सामाजिक कामप्रति आभार व्यक्त गर्दै, योगदान गर्ने युवाहरूका अभिभावकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो, जसले गर्दा कार्यक्रम थप भावनात्मक र गौरवपूर्ण बनेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले वैदेशिक रोजगारीमा गएका युवाहरूले गाउँको विकासका लागि देखाएको चिन्तन र योगदानलाई उच्च मूल्यांकन गरे । उनीहरूले विदेशमा रहे पनि गाउँलाई सम्झेर सकारात्मक योगदान गर्नु प्रेरणादायी भएको बताए । साथै, यस्ता कार्यले अन्य युवाहरूलाई पनि सामाजिक जिम्मेवारीप्रति सजग र प्रेरित बनाउने विश्वास व्यक्त गरे ।

यस चौताराको निर्माणले अब गाउँमा यात्रुहरूका लागि विश्राम, स्थानीय जनताको भेटघाट र छलफलका लागि एउटा सामुदायिक थलोको रूपमा काम गर्नेछ । गाउँमा सामाजिक सद्भाव, एकता र सक्रिय सहभागितालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

उक्त चौताराको निर्माण सम्पन्न भएपछि एक भव्य उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा कार्यक्रमका अध्यक्ष जितेन्द्र महतो, वडा नं.१२ का वडा सदस्य संतलाल महतो, श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतो, सशस्त्र वेस क्याफका प्रमुख, कान्तिबजार प्रहरी चौकीका प्रमुख, खानेपानी उपभोक्ता समितिका अध्यक्ष डोमि महतो, समाजसेवी, अभिभावक र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर