
मो. इसराफिल राइन
महोत्तरी,मटिहानी ।
हालैको अविरल वर्षा र बाढीका कारण प्रभावित मटिहानी नगरपालिका वडा नं. ९ अन्तर्गत सिमरदही गाउँ र मुसहर बस्ती ठारही टोलका बाढी पीडित घरपरिवारलाई आज मटिहानी नगरपालिकाले राहत वितरण गरेको छ ।

नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले स्वयं उपस्थित रही बाढी प्रभावित करिब १०० घरपरिवारलाई राहत सामग्री वितरण गर्नुभयो ।राहत सामग्रीमा प्रति परिवार चामल २५ केजी, आलु ५ केजी, दाल २ केजी, तेल ५०० ग्राम, नून १ प्याकेट र सोयाबीन १ प्याकेट समावेश गरिएको मटिहानी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख मंडलले राहत वितरणका क्रममा स्थानीय पीडितहरूप्रति दुःख ब्यक्त गर्दै भविष्यमा पनि पालिकाले आफ्नो जिम्मेवारी पूरा गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “बाढी जस्तो प्राकृतिक विपत् कसैको नियन्त्रणमा नहुने भए पनि हामीले पीडित नागरिकको साथमा सदैव रहन्छौं ।”
राहत वितरणपछि सिमरदहीकी शैलो देबी मरर र ठारहीका मनोहर सदाले नगरपालिकाप्रतिको आभार व्यक्त गर्दै भने, “हामीलाई आज बल्ल सरकार भएको अनुभूति भयो ।” उनीहरूले यस्तो विपतको समयमा पालिकाबाट पाएको सहयोगले निकै राहत महसुस भएको बताए ।
स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र पालिकाका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न सो राहत वितरण कार्यक्रममा स्थानीयहरूमा खुशी र सन्तोषको माहोल देखिएको थियो ।