कार्यालय समयमा नियमसम्मत सेवा, ढिलासुस्ती नगरी तत्कालै काम गर्न कर्मचारीलाई मटिहानी नगर प्रमुख मंडलको निर्देशन

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी ।


मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडलले नगरभित्रका कर्मचारीहरुलाई सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न कडाइका साथ निर्देशन दिनुभएको छ । हाल देशको परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राख्दै प्रमुख मंडलले सेवाग्राहीले ल्याएको कामलाई कार्यालय समयमा नियमसम्मत ढंगले तत्कालै सम्पन्न गर्नुपर्ने स्पष्ट निर्देश गर्नु भएको हो ।गत भदौ २३ गतेदेखि सुरु भएको Gen Z आन्दोलन पछि देखिएको नयाँ राजनीतिक परिस्थिति र जनताको चासोलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रमुख मंडलले कर्मचारीलाई सेवाग्राहीको काममा ढिलासुस्ती, अनावश्यक झन्झट र आर्थिक बोझ सिर्जना नगरी सहज र पारदर्शी ढंगले सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ ।

शुभकामना आदान–प्रदान कार्यक्रममै निर्देशन

नगर प्रमुख मंडलले आज मटिहानी नगरपालिकाले आयोजना गरेको “बडा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम” मा बोल्दै सो निर्देशन दिनुभएको हो । कार्यक्रममा उहाँले कार्यालय समयमा समयमै उपस्थित हुन, सेवा प्रवाह गर्दा कानुनी प्रक्रिया पूरा गरेर मात्र काम गर्ने तर राजस्व बाहेक कुनै पनि किसिमको रकम असुल नगर्ने र यदि सेवाग्राहीले ल्याएको कागजात अपुरो भए तत्कालै आवश्यक कागजातबारे जानकारी दिन कर्मचारीहरुलाई आह्वान गर्नुभयो ।

वडाध्यक्षहरुलाई समेत निर्देशन

प्रमुख मंडलले वडाध्यक्षहरुलाई समेत सेवाग्राहीको काममा कुनै पनि किसिमको राजनीतिक वा व्यक्तिगत हस्तक्षेप नगरी निष्पक्ष रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले जनताले पालिकाको काममा विश्वास राख्न सक्ने वातावरण बनाउन सबै जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व निष्ठापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पारदर्शिता र विश्वासको माहोल

नगर प्रमुख मंडलको भनाइमा, पारदर्शी सेवा प्रवाह र छिटोछरितो कामले मात्र जनतामा पालिकाप्रति विश्वास बढ्छ । त्यसैले कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो काममा जवाफदेहीपन देखाउनुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खबर