मटिहानीमा वड़ा दशैको अवसरमा निकालियो भब्य शान्ति कलश यात्रा, हजारौंको संख्यामा श्रद्धालु सहभागी ।

मो. इसराफिल राइन

महोत्तरी, असोज ६ गते ।
महोत्तरी जिल्लाको मटिहानीमा आज बडा दशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण र धार्मिक सद्भावना प्रवर्द्धन गर्ने उद्देश्यले शान्ति कलश शोभा यात्राको आयोजना गरिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडल तथा महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री संजय कुमार पोखरेलले संयुक्त रूपमा गर्नुभएको थियो । 

उद्घाटनका क्रममा नगर प्रमुख मंडलज्यूले धार्मिक तथा सांस्कृतिक पर्वहरूले समाजमा आपसी एकता, मेलमिलाप र सहिष्णुताको भावना जागृत गर्ने भएकाले यस किसिमका कार्यक्रमलाई नगरपालिकाले सधैं समर्थन गर्ने बताउनुभयो ।

शोभा यात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिर प्राङ्गणबाट शुभारम्भ गरी नगरका मुख्य–मुख्य मार्ग हुँदै मधवापुरलगायत आसपासका क्षेत्रको परिक्रमा गर्दै पुनः मन्दिर प्राङ्गणमै सम्पन्न भएको थियो । यस क्रममा भक्तजनहरूले दुर्गा भवानीको जयघोष गर्दै वातावरणलाई पूर्णतया धार्मिक र आध्यात्मिक रंगमा रंगाएका थिए ।

श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीको विशेष पहलमा आयोजना गरिएको सो शोभा यात्रामा दुर्गा भवानीको नौ(९) वटा शक्तिपीठीय प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहका प्रस्तुति प्रमुख आकर्षण बनेका थिए । 

शोभा यात्रामा महिलादेखि पुरुष, बालबालिकादेखि वृद्धवृद्धासम्म हजारौंको संख्यामा भक्तजनहरू सहभागी भएका थिए ।

सो अवसरमा स्थानीय समाजसेवी, धार्मिक अगुवाहरू, जनप्रतिनिधि, सुरक्षाकर्मी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसरी सम्पन्न शान्ति कलश शोभा यात्राले मटिहानी नगर र आसपासका क्षेत्रमा उत्साह, उल्लास र धार्मिक आस्थाको नयाँ ऊर्जा भरेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर