
मो.इसराफिल राइन
महोत्तरी, मटिहानी —
आज मिति २०८२ साल श्रावण ३१ गते शनिवारका दिन मटिहानीमा लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा अमर शहीद केशव कोइरालाको ५१ औं स्मृति दिवस विशेष कार्यक्रमका साथ मनाइयो।




मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, सहीद परिवारका सदस्य एवं नेपाली कांग्रेसका नेता उज्जवल बराल, सहीदकी छोरी समिता कोइराला, नेपाली कांग्रेसका नेता बजरंग नेपाली, प्रतिष्ठानका अध्यक्ष उपेन्द्र चौधरी, उपाध्यक्ष बैजनाथ मंडल लगायतहरुले स्मृति दिवसको अवसरमा सहीद कोइरालाको स्मारकमा फूल, माला र खादा अर्पण गरी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

शहीद केशव कोइरालाको जीवन र योगदान
वि.सं. २००७ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भई उहाँले राणा शासनको विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा संघर्ष गर्नुभएको थियो। नेपालको लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन समर्पण गर्ने क्रममा वि.सं. २०३१ साल श्रावण ३१ गते उहाँले सर्वोच्च बलिदान दिनुभयो।
सहीद केशव कोइरालाले आफ्नो जीवनभर प्रजातन्त्र, स्वतन्त्रता, राष्ट्रिय एकता र समानताका लागि अडान लिनुभयो। उहाँको बलिदानले नेपाली राजनीतिमा लोकतान्त्रिक चेतना फैलाउन ठूलो टेवा पुर्याएको छ।

कार्यक्रममा मन्तव्य
कार्यक्रममा विभिन्न वक्ताहरूले सहीद कोइरालाले देखाउनुभएको साहस, त्याग र आदर्शलाई आजको पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो। वक्ताहरूले लोकतन्त्रको जगलाई मजबुत बनाउन सहीदका सपनालाई साकार पार्न सबै दल एकजुट हुनुपर्नेमा समेत आह्वान गर्नुभयो।