धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – साउन शुक्लपक्षको आरम्भसँगै तराई–मधेसका गाउँ, नगर र बस्तीहरूमा राखी (रक्षाबन्धन) पर्वको उल्लासमय माहोल सुरु भएको छ। दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई अझ मजबुत पार्ने यो पर्वको धून हाल गाउँघरदेखि हाटबजारसम्म गुञ्जिरहेको छ।
आउँदो शनिवार (साउन २४ गते) साउन शुक्ल पूर्णिमाको दिन धुमधामका साथ यो पर्व मनाउने तयारीमा दिदीबहिनीहरू जुटेका छन्। मिथिला लोकसंस्कृतिका जानकारहरूका अनुसार दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने अटूट प्रतिबद्धता व्यक्त गरिने यो पर्व मधेसको एक महत्त्वपूर्ण सांस्कृतिक धरोहर हो।

हाल महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा लाग्ने औरही बजारदेखि अन्य हाटबजारसम्म राखी खरिदका लागि किशोरी, युवती र महिलाहरूको चहलपहल बढेको छ। विवाह भएर गएकी चेलीहरूले मोबाइल, चिट्ठी वा सामाजिक सञ्जालमार्फत आफ्ना दाजुभाइको ठेगाना खोजी राखी बन्धनमा आउन निम्तो दिइरहेका छन्। अविवाहित चेलीहरू पनि घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाको दिन एकै ठाउँमा भेला हुन आग्रह गरिरहेका छन्।

राखी छान्न औरही बजार पुगेकी औरही–२ की मंजु यादव र गौशाला नगरपालिका–१० की रंजना महतोका अनुसार, राखी पर्वको तयारीमा लाग्दा १५ दिन कहिल्यै नथाहा पाइकन बितिसकेको अनुभूति हुन्छ। यस अवसरमा दिदीबहिनी मात्र नभई व्यापारीहरू पनि उत्तिकै व्यस्त छन्। ग्राहकको रोजाइअनुसार आधुनिक र परम्परागत डिजाइनका राखी बजारमा उपलब्ध गराउन व्यापारीहरू अहोरात्र जुटेका छन्।
धार्मिक र सांस्कृतिक पृष्ठभूमि
हिन्दू धर्मशास्त्र अनुसार सत्ययुगमा दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि हातमा रक्षासूत्र (राखी) बाँधेर विजयको आशीर्वाद दिएको कथा प्रचलित छ। त्यो युद्धमा बलि विजयी भएको स्मरण गर्दै हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख–समृद्धि र वीरताको कामना गर्दै राखी बाँध्ने परम्परा चलिआएको हो।

वेद–पुराणमा पनि राखीलाई “रक्षासूत्र” का रूपमा उल्लेख गरिएको छ, जसलाई मन्त्र उच्चारणसहित पुरोहितले यजमानको हातमा बाँधिदिने चलन छ। मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु हो, जसले सम्बन्धलाई अझ आत्मीय बनाउँछ।
साँस्कृतिक समन्वयको प्रतीक
पहिले मुख्यत: मधेसी तथा हिन्दू समुदायले मात्र मनाउने यो पर्व अहिले पहाडी समुदायका दाजुभाइ र दिदीबहिनीहरूबीच पनि लोकप्रिय बन्दै गएको छ। सांस्कृतिक घुलमिल र देखासिकीका कारण पछिल्ला वर्षहरूमा इस्लाम धर्मावलम्बीहरूले समेत यो पर्व मनाउन थालेका छन्। उनीहरूका अनुसार, यो केवल धार्मिक कर्मकाण्ड नभई आपसी प्रेम, विश्वास र भाइचाराको उत्सव हो।
राखी पर्व यसरी तराई–मधेसमा मात्र नभई सम्पूर्ण नेपाली समाजमा भाईचारा र एकताको सन्देश फैलाउने सेतु बन्दै गएको छ।









