साउन महिनामा मासुको बिक्रि घट्यो

 धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी(औरही) – साउन महिनामा मासु बिक्रि घटेको छ। औरही नगरपालिका १ औरही बजारमा मासु व्यापार गर्दै आएका व्यापारीहरूले साउन महिनामा मासुको बिक्री आधाले घटेको बताएका छन्।

हिन्दु धर्म का अनुसार साउनलाई शिवको पवित्र महिना मानिने भएकाले मासुमाछा नखाने चलन बढेसँगै मासु व्यवसायमा गम्भीर असर परेको छ। मोतिबुल लहेरी, जो लामो समयदेखि खसी र कुखुराको मासु बिक्री गर्दै आएका छन्, भन्छन्,”अन्य समयमा दैनिक खसी ३ ओटा र कुखुरा ५० वटा कुखुरा बिक्री हुन्थ्यो, तर अहिले दैनिक खसी १ ओटा र कुखुरा १० पनि बिक्री गर्न मुश्किल छ। सोमबार त झन् बिक्री अत्यन्तै कम भयो।

” उनले साउन महिनामा मासु व्यापारमा निरन्तर कमी देखिएको र यस वर्ष अझै त्यो कमी बढेको बताए। साउन महिनालाई चोखो, पवित्र र व्रतवन्धको समय मानिएपछि धेरैले मासुमाछा नखाने र व्रत बस्ने भएकाले मासु व्यवसायमा यो असर परेको छ। साथै, बिहे, भोजजस्ता कार्यक्रमहरू पनि नहुँदा व्यापारमा थप कमी आएको छ।

औरही नगरपालिका १ का अर्का मासु व्यापारी जाबिर लहेरीका अनुसार पनि मासुको बिक्री असार महिनासम्म दैनिक खसीको मासु ५० देखि १०० किलो पुग्थ्यो, अहिले त्यो ३०-४० किलोसम्म झरेको छ।“हामी बर्दिवास र आसपासका होटेलहरूलाई मासु आपूर्ति गर्दै आएका थियौं, तर साउनमा उनीहरूको माग पनि घटेको छ। पहिले जसले २० देखि ५० किलो मासु लिन्थे,अहिले १० देखि १५ किलो मात्रै लिन थालेका छन्,”उनले भने।

औरही नगरपालिका १ औरही बजारमा सबैभन्दा पुरानो र चर्चित होटेल, संजय होटेलका संचालक संजय भुजेलले पनि साउन लागेसँगै होटेलमा आउने ग्राहक संख्या निकै घटेको बताए। “पहिले दैनिक १०० देखि २०० जना आउने होटेलमा अहिले ६०-७० जना मात्र आउँछन्,” उनले बताए। स्थानीय उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा औरही १ का स्थानीय बासिन्दा श्रावण चौधरीले भने, “साउन महिना हिन्दु धर्ममा धार्मिक महत्व बोकेको पवित्र समय हो। यस अवधिमा जनजीवन र व्यापार दुवै प्रभावित हुन्छन्।

यो हाम्रो सांस्कृतिक मान्यता र परम्परालाई सम्मान गर्दै अघि बढ्नु जरुरी छ।” साउन महिनामा धार्मिक भावनाले मासु कारोबारमा आएको कमी व्यापारीहरूका लागि चुनौती त हो नै, तर यसले स्थानीय परम्परा र संस्कृतिको सम्मान पनि दर्शाउँछ। व्यापारीहरूलाई आशा छ कि साउन पछि फेरि व्यापारमा सुधार आउनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर