कालोपत्रे सडकले गाउँको मुहार फेरिने मटिहानी नगरपालिकाको जनविश्वास

मटिहानी, महोत्तरी —

मटिहानी नगरपालिकाका वडाहरू ४ र ५ का मुख्य सड़क कालोपत्रे भई रहेको देख्दा स्थानीयवासीहरूमा खुशी छाएको छ।

 शहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका वडा नं. ४ स्थित मझौरा प्रवेशद्वारदेखि वडा कार्यालय बिसनपुर हुँदै वड़ा नं. ५ गोबरौरा सम्मको करिब ४ किलोमिटर सडक खण्ड कालोपत्रे भई रहेको कुरा प्राविधिक दिनेश साहले बताउनुभयो ।

सडकको कालोपत्रे कार्य प्रारम्भ भइसकेको छ भने कामको अनुगमन तथा निरीक्षण गर्नु हुँदै प्रमुख हरि प्रसाद मंडलले उक्त सडक योजनाले झन्डै १५ हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने कुरा  बताउनुभयो साथै उक्त सड़क विकासले मझौरा बिसनपुर र गोबरौराका स्थानीयलाई आफ्नो जीवन यापन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।

त्यसै क्रममा नगर प्रमुख मण्डलले  सडक निर्माण गुणस्तरीय र समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “स्थानीय बासिन्दाका समस्या समाधान गर्नु नगरपालिकाको प्रमुख दायित्व हो। विकासको मूल आधार भनेकै पूर्वाधार हो, र यस सडक योजनाले मटिहानीको समग्र विकासमा नयाँ गति ल्याउनेछ।”

शहरी विकास तथा भवन निर्माण विभागको मटिहानी नगरपालिकामा रकम रु.२७,९९,७४,५७७/- को सघन सहरी विकासको बिभिन्न कार्यक्रम अन्तर्गत करिब ४ करोड रुपैयाँको लागतमा निर्माण हुने कुरा साइट इन्चार्ज प्रशान्त यादवले बताउनुभयो ।

स्थानीयवासीहरूका अनुसार वर्षौँदेखि मझौरा, बिसनपुर र गोबरौरा क्षेत्रमा धुलाम्य, हिलाम्य तथा अव्यवस्थित सडकका कारण यातायात, व्यापार, स्वास्थ्य सेवा र शैक्षिक पहुँचमा अप्ठ्यारो भइरहेको थियो। अब कालोपत्रे सडकले यी सबै क्षेत्रमा सहजता ल्याउने जनअपेक्षा बढ्दो छ।

सडक निर्माणपछिको प्रत्यक्ष लाभमा छात्र–छात्राहरूको विद्यालय आवागमन सहज हुने, कृषिजन्य सामग्रीको बजारमा सहज पहुँच हुने, आकस्मिक स्वास्थ्य सेवामा ढुवानी सजिलो हुने र व्यापार व्यवसायको विस्तारमा मद्दत पुग्ने विश्वास स्थानीय चन्देश्वर रजकले ब्यक्त गरेका छन ।

नगरपालिकाका इंजीनियर बिमलेश साहका अनुसार यस योजनालाई नियमित अनुगमन गर्दै समयसीमा भित्रै सम्पन्न गरिने कार्ययोजना बनाइएको छ। साथै, निर्माणको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित प्राविधिक टोली सक्रिय रुपमा खटिएको जानकारी दिइएको छ।

वड़ा नं.४ का वड़ा अध्यक्ष अब्दुर गफार राइन भन्छन्, “सडक बनेपछि हाम्रो गाउँ पनि शहरसरह देखिनेछ, हामी धेरै उत्साहित छौं। अबको विकास यो बाटोबाट सुरु हुनेछ।”

यस किसिमका पूर्वाधार विकास योजनाले मटिहानी नगरपालिका समग्रमा स्मार्ट नगर निर्माणतर्फ अघि बढेको संकेत दिने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर