सप्तकोसीमा बेपत्ता भएकामध्ये एकजना सशस्त्र प्रहरीको शव फेला,खोजी कार्य जारी

धरान – सप्तकोसी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको छ। शुक्रबार प्रहरीले कोसी ब्यारेजको दुईकिलो दक्षिणमा पर्ने सप्तकोसी नदीबाट राजवंशीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।  

बिहीबार सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयले सप्तकोसी नदीमा उद्धार अभ्यासका लगि गोताखोर सहितको टोली सप्तकोसी नदीमा लगेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५ जना गोताखोर सहितको तालिम प्राप्त टोली सप्तकोसी नदीमा अभ्यासको लागि गएका थिए। 

५ जना मध्ये  सशस्त्र प्रहरी जवान हरदेब राजवंशी र सुरज साउद बेपत्ता भएका थिए। बेपत्ता साउदको अवस्था अझै पत्ता लाग्न सकेको छैन। बेपत्ता सशस्त्र प्रहरी जवानको खोजी कार्यमा शुक्रबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरीको तालिम प्राप्त टोली परिचालन गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।

राजवंशीको शव पोस्टमार्टमाका लागि अस्पताल लगेर परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ। साउद सशस्त्र प्रहरीको मधेश प्रहरी कार्यालय बर्दिबास र राजबंशी सशस्त्र प्रहरीको बरमझिया गणमा कार्यरत रहेका थिए।
 

प्रतिक्रिया
सम्बन्धित खबर